
तुलसीपुर,फागुन २७ । कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि तुलसीपुर उपमहानगरपालिकाले सतर्कता अपनाउन सबै निकायलाई आग्रह गरेको छ । उपमहानगरपालिका स्वास्थ्य महाशाखाको आयोजनामा विभिन्न सरोकारवाला निकायका बीचमा मंगलवार भएको छलफल सबै निकायकाले कसरी सजगता अपनाउन सकिन्छ भन्ने वारेमा छलफल गरेका हुन ।
नगरप्रमुख घनश्याम पाण्डेले जोखिमको अवस्था अझै यथावत रहेको भन्दै पूर्व सचेतना नै यसबाट जोगिने आधार भएको बताए । उनले मानिसमा रहेको मनोवैज्ञानिक त्रासलाई न्यूनिकरण गर्न र सावधानी अपनाउन सबै निकायलाई अपिल गरे ।
कोरोनाको सन्त्रास एकैपटक फैलिएमा आइसोलेसन सेन्टरका रुपमा वेलझुण्डीस्थित आयुर्वेद भवनलाई प्रयोग गर्न सकिने बताए ।
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका प्रमुख डा. प्रताप पोख्रेलले तत्काललाई एउटा कोठा छुट्याएर आइसोलेसन केन्द्र वनाइएको जानकारी दिए । उनले कोरोना प्रकोपको रुपमा आउने भएकाले एकैपटक धेरै जनालाई उपचार गर्न अभाव हुने तर्फ ध्यानाकर्षण गराए । स्वास्थ्यकर्मीलाई सुरक्षित वनाउन सके मात्रै उपचार प्रभावकारी हुने उनले स्पष्ट पारे ।
उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख ओमप्रकाश न्यौपानले विभिन्न ठाउँमा हेल्प डेष्क स्थापना गरेर सचेतना फैलाउँदै आइएको जानकारी दिए । उनले तुलसीपुरका विभिन्न क्षेत्रमा सुचना वोर्ड स्थापना गर्ने वताए ।