ओमकुमार गुप्ता,
देउखुरी, फागुन २३ ।दाङको राप्ती गाउँपालिका–५ सिसहनिया स्थित प्रभात बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पक्राउ परेका सञ्चारकर्मी सन्तोषकुमार गुप्तालाई दाङ देउखुरी जिल्ला अदालतले सफाई दिएको छ ।
संस्थाका ऋण उपसमितिका संयोजक रहेका गुप्तालाई अदालतका २ नम्बर इजलासका न्यायधीश हिमलाल बेल्बासेको एकल इजलाशले दोषी ठहर गर्ने कुनै आधार नभएको भन्दै सफाई दिएको हो । फागुन २२ गते बिहीबार जिल्ला न्यायाधीश बेल्वासेको एकल इजलासले सफाई दिएको हो ।
गुप्तामाथि संस्थाको ६६ लाख रुपैंया भन्दा बढी रकम हिनामिना गरेको आरोप लागेको थियो । त्यही उजुरीको आधारमा गुप्ता २०७५ साल कार्तिक २३ गते पक्राउ परेका थिए ।पक्राउ परेका पत्रकार गुप्तालाई मंसिर ३ गते तत्कालीन न्याधीस श्यामलाल घिमिरेले पुर्पक्षमा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो ।
त्यो आदेशले करिव १६ महिना जिल्ला कारागार कार्यालय घोराही गुप्ताले विताउनु परेको थियो । यसैबीच संस्थाका व्यवस्थापक रमिता चौधरीलाई भने अदालतले दोषी ठहर गर्दै एक महिना भित्र कैद जरिवानाको सुनवाई गर्ने अदालतका श्रेस्तेदार प्रेमनारायण पराजुलीले जानकारी दिए ।
सहकारी संस्थाका अध्यक्ष,उपाध्यक्ष र कोषाध्यक्षको किटानी जाहेरीका आधारमा सहकारी संस्थाका ऋण समितिका संयोजक गुप्ता र त्यसको केही समय पछि व्यवस्थापक चौधरीलाई इलाका प्रहरी कार्यालय भालुवाङले पक्राउ गरेको थियोे । हाल रकम हिनामिना गरेको आरोप लागेका रमिताका पति तथा संस्थाका पुर्व सचिव बशन्तकुमार चौधरी फरार रहेका छन् ।