२०८१ बैशाख ८ गते शनिवार

घोराहीमा थारू भाषाको पाठ्यक्रम निर्माण हुँदै


लिलाधर वली,
दाङ, १८ फागुन । दाङको घोराही उपमहानगरपालिकाले थारु भाषाको पाठ्यक्रमको निर्माण गर्न थालेको छ । देश संघीय संरचना गएपछि माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहहरुलाई दिइएको छ । यसै अधिकारको प्रयोग गरेर अहिले विभिन्न स्थानीय तहहरुले आ–आफ्नो स्थानीय तहअनुसार पाठ्यक्रम निर्माण गर्न थालेका छन् । सोही अधिकारको प्रयोग गर्दै घोराही उपमहानगरपालिकाले पनि थारु भाषामा पाठ्यक्रम निर्माण गर्न थालेको जनाएको छ ।

जिल्लामा यसरी पाठ्यक्रम निर्माण गर्न थालिएको सम्म्भवतः यो नै पहिलो हो । जिल्लामा १० स्थानीय तह रहेपनि कसैले पनि पाठ्यक्रम निर्माण शुरु समेत नगरेको बताइएको छ । जिल्लामा २ उपमहानगरपालिका १ नगरपालिका र ७ गाउँपालिकाहरु रहेका छन् । भातृ भाषामा अध्यापन गराइएपनि पाठ्यक्रम भने निर्माण भएको थिएन । पाठ्यक्रम निर्माणका लागि घोराही उपमहानगरपालिकाले सार्वजनिक सूचना प्रकाशित गरेर विज्ञ व्यक्ति तथा संस्थालाई प्रस्ताव आह्वान गरेको छ । १५ दिनको समय दिएर नगरपालिकाले विज्ञ व्यक्ति तथा संस्थालाई निवेदन दिन भनेको छ । यही फागुन ८ गते बसेको नगर शिक्षा समितिको बैठकले थारु भाषामा पाठ्यक्रम निर्माण गर्ने निर्णय गरेको उपमहानगरपालिकाले जनाएको छ ।

उपमहानगरले प्राथमिक विद्यालयसम्मको पाठ्यक्रम निर्माण गर्न थालेको शिक्षा युवा तथा खेलकुद महाशाखाका शाखा अधिकृत नारायणप्रसाद पौडेलले जानकारी दिएका छन । पाठ्यक्रम निर्माण गरेर नगरमा रहेका प्राथमिक विद्यालयमा लागू गरिने शाखा अधिकृत पौडेलले बताए । पाठ्यक्रम तयार गरिसकेपछि पाठ्यपुस्तक प्रकाशनका लागि पाठ्यपुस्तक विकास केन्द्रलाई समेत प्रदान गरिने बताइएको छ । ‘नगर क्षेत्रमा रहेका इच्छुक विद्यालयहरुमा थारु भाषाको पाठ्यक्रम लागू गरिने छ’, अधिकृत पौडेल,‘सवै विद्यालयमा लागु हुने छैन ।’ आउँदो शैक्षिक सत्रबाट लागू गर्ने तयारी गरिएको शिक्षा युवा तथा खेलकुद महाशाखाले जनाएको छ ।

पाठ्यक्रम निर्माणका लागि १ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ । स्थानीय पाठ्यक्रमलाई प्राथमिकता दिनुपर्ने उद्देश्य अनुसार नै घोराही उपमहानगरपालिकाले थारु भाषाको पाठ्यक्रम निर्माण गर्न लागेको हो । नगर क्षेत्रमा थारु समुदायको संख्या बढी भएकाले पनि थारु भाषाको पाठ्यक्रम निर्माण गर्न लागिएको हो ।

निर्माण गर्न लागिएको पाठ्यक्रम अनिवार्यभन्दा पनि इच्छा–रुचि राख्ने विद्यालयहरुमा लागू गरिने अधिकृत पौडेलले बताए ।

विशेषगरी नगरका थारु वस्ती बढी रहेका विद्यालयहरुमा लागू गर्ने तयारी उपमहानगरले गरेको छ । ‘बालबालिकाहरुले आफ्नै भातृभाषामा अध्ययन गर्न पाउँदा बालबालिकाहरुमा सिकाईसँगै थारुभाषाको संरक्षणमा समेत सहयोग पुगोस भन्ने अपेक्षा गरिएको छ’, अधिकृत पौडेलले भने,‘सोही अनुसार घोराहीमा पहिलो पटक लागु गर्न थालिएको हो ।’ थारुभाषाको पाठ्यक्रम १ सय पूर्णाङ्कको रहने छ । यसरी निर्माण गर्न थालिएको थारु भाषाको पाठ्यक्रमलाई ऐच्छिक विषयका रुपमा राखिने भएको छ ।

प्रकाशित मिति : २०७६ फाल्गुन १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *