मेयर र वडाध्यक्ष बीच घोटालाको आरोप प्रत्यारोप
लमही,फागुन १५ । लमही नगरपालिकामा विहीवार जनप्रतिनिधिले नै तालावन्दी गरेका छन् । नगरपालिकाको गेटमा वडा अध्यक्षहरुले तालावन्दी गरेका हनु ।
ताला लगाउन मेयर, उपमेयर र नगरका प्रवक्ता बाहेक सत्तासिन दल नेकपा र नेपाली काँग्रेसका वडा अध्यक्ष सबै गएका थिए । लमही नगरमा चारवटा वडा र उपमेयर नेपाली काँग्रेसले जितेको छ ।
वडा अध्यक्षहरुले नगरपालिकाको गेटमा लगाएको ताला केही बेरमै प्रहरीले तोडेको थियो । वडा अध्यक्षहरुले प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीको सरुवाको माग गर्दै तालावन्दी गरेका हुन ।
आन्दोलनमा उत्रिएका वडा अध्यक्षहरुले अधिकृत डाँगीको सरुवाको माग गर्दै तालाबन्दी गरेको बताएका छन् । संघीय मामिला मन्त्रालयमा समेत उनीहरुले डाँगीको मागसहित लिखित निवेदन यसअघि नै दिएका थिए ।
त्यसपछि नगरप्रमुख कुलबहादुर केसी पनि मन्त्रालय पुगेर सरुवा भइसकेका अधिकृत डाँगीको सरुवा थमौटी गरेर आएका छन् । वडा नं. २ का वडा अध्यक्ष नेपालु चौधरीले नगरप्रमुख केसी र प्रमुख प्रशासकीय अधिकृत डाँगीको बीचमा सांठगाँठ रहेको आरोप लगाए ।
उनले अधिकृत डाँगीले हैकम जमाउन खोजेको, मनपरी बजेट र कर्मचारीलाई एताउता गर्ने गरेको, धेरै अनैतिक काम गरेको दाबी गरे । डाँगीले आन्तरिक स्रोतको रकममा मनपरी गर्ने गरेको बताए ।
‘डाँगीले हामीलाई मस्तै सताउनु भएको छ, धेरै दुःख दिनु भएको छ,’ चौधरीले भने ‘ यस्ता अनियमित ढंगले कामगर्ने अधिकृत हामीलाई चाहिएको हैन।’ उनले नगरप्रमुखले अनियमितता गर्न तिनै अधिकृत डाँगीलाई ढाकछोप गर्ने गरेको चौधरीले आशंका व्यक्त गरे ।
त्यस्तै नगरप्रमुख केसीले पनि आन्दोलनरत वडा अध्यक्षहरुले भ्रष्ट कर्मचारीलाई बचाउन आन्दोलन गरेको दाबी गरे । उनले शिक्षाशाखा प्रमुख रविन्द्र क्षत्री, लेखा प्रमुख गौरव लामिछाने र योजना शाखा प्रमुख पुष्पराज अधिकारीले गर्दै आएको बदमासी तथा भ्रष्टचार गरेको बताए ।
‘तीनै भ्रष्ट कर्मचारीलाई साथदिन वडा अध्यक्षहरु लाग्नु दुःखद कुरा हो,’ नगरप्रमुख केसीले भने ‘ ती कर्मचारीले टेन्डरमा धेरै बदमासी गरेका छन् । अनियमितता गरेका छन्।’ लेखाअधिकृत अधिकारीले सीपमुलक तालिमको टेन्डर खोलेरपनि आफ्नालाई नपरेपछि त्यो च्यातचुत पारेर फालेको र अर्कौ दिन कार्यालयमा आफन्तको फर्म दर्तागर्दा आफुले फेला पारेको हुँदा उनलाई कारवाही गर्न खोजेको नगरप्रमुख केसीले बताए ।
उनले त्यो घटना छानविन हुनुपर्ने माग गर्दै १३ गते मात्रै संघीय मन्त्रालय पुगेर निवेदन दिएको र त्यस उपर छलफल भइ विहीवार उपसचिव भोजराज घिमिरे नेतृत्वको टोली छानविनका लागि लमही आउन लागेको जानकारी दिए ।