दाङ,फागुन ११ । फागुन २ गते मध्यरातमा हत्या गरिएकी एक स्कुले किशोरीको हत्या काण्ड अनुसन्धान गर्न प्रहरीले आइतवारदेखि विभिन्न व्यक्तिहरुमा पोलिग्राफको टेष्ट सुरु गर्ने तयारी गरेको छ । त्रिवेणी गाउँपपालिका वडा नं. १ तल्लो काभ्रा निवासी १७ वर्षीया कविता बोहराको शव घरदेखि १५ मिटरको दुरीमा विभत्स हत्या गरिएको अवस्थामा मध्य रातमा फेला परेको थियो ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रबक्ता उमाकान्त जोशीले कविता हत्याकाण्ड अनुसन्धानका क्रममा आइतवारदेखि विभिन्न व्यक्तिहरुलाई बोलाएर पोलिग्राफ टेष्ट गर्न लागिएको जानकारी दिए ।
पोलिग्राफ मेसिन लगाउँदा अपराधमा संलग्न व्यक्तिको हृदयको गति र बोलि लगाएमा एकाएक परिवर्तन आउने हँदा घटना अनुसन्धान गर्न सजिलो हुने जोशीले विश्वास गरे ।
यसअिघ प्रहरीले उक्त घटना अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय बाँके नेपालगञ्जवाट ‘भुन्टी’ नामक कुकुरलाई पनि प्रयोग गरेको थियो ।
कुकुर बेलुका मात्रै घटनास्थल ल्याइनु, घटनास्थलमा मानिसहरुको आवातजावात खुल्ला रुपमा हुनु , परिवारका सदस्यले शव ढाक्न कपडा ओढाउनु जस्ता कुराहरुले उक्त कुकुरले पनि हत्यारा पहिचान गर्न चुकेको थियो ।
प्रहरीले घटनास्थलमा हत्या गरिएकी बोहोराले प्रयोग गर्ने मोबाइलपनि फेला पारेको थियो । प्रहरीले मोबाइलको कल डिटेल्सको आधारमा पनि अनुसन्धान अगाडि बढाइएको जानकारी दिएको छ ।
स्थानीय सामुदायिक विद्यालयमा कक्षा ९ मा अध्यनरत बोहोराको अगाडि घाँटी र पछाडि टाउकोको भागमा धारिलो हतियारले आक्रमण गरी विभत्स हत्या गरेको अवस्थामा शव घरदेखि १५ मिटर टाढा फेला परेको प्रहरीले बताएको छ । मध्यरातमा एकाएक बच्चा विरामी भएपछि कविताको खोजी घरपरिवारले सुरु गर्दा उनी हत्या गरिएको अवस्थामा फेला परेकी थिइन ।