दाङ,फागुन ७ । सवारी दुर्घटनामा परि गम्भीर घाइते भएका नेपाली सेनाका एक मेजरको उपचारका क्रममा काठमान्डौंमा मृत्यु भएको छ । काठन्डौंको ललितपुर इमाडोल निवासी ३३ बर्षीय मेजर ईश्वर सिलवालको उपचारका क्रममा एक हप्तापछि सोमवार मृत्यु भएको छ ।
मेजर सिलवालको सोमवार उपचारका क्रममा काठमान्डौंस्थित नेपाली सेनाको छाउनी हस्पिटलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।
माघ २९ गते दुर्घटना भएकै दिन जमदार यादव धरेलको मृत्यु भएको थियो । दाङ तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा जमदार यादवको उपचारका क्रममा मृत्यु भएको थियो ।
दुर्घटनाका घाइते ५ जना मध्य सेनानी जयप्रकाश बोहरा, मोहन थापा, सिपाहीहरु बिशाल गुरुङ, रेशम मगर, विपिन श्रेष्ठको छाउनी हस्पितलमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
सल्यानबाट दाङको तुलसीपुर तर्फ आउँदै गरेको लु १ त १२३ नम्वरको नेपाली सेनाको ट्रक दाङ–सल्यान सीमानाकामा पर्ने कपुरकोट गाउँपालिका वडा नं. ३ को चोरखोलामा बेलका साढे ४ बजेतिर दुर्घटनामा परेको थियो ।उक्त ट्रक सल्यानको सिमखर्क सवुज गणबाट हातहतियार र वन्दोबस्तिका सामानसहित बुटवल जान हिडेको थियो ।
घाइते सबैलाई दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भीक उपचार पछि थप उपचारको लागि सेनाले हेलिकोप्टर मार्फत सोही दिन नै काठमान्डौं पुर्याएरको हो ।
मेजरसहित सात जना सवार ट्रक झन्डै ५ सय मिटर तल खसेको थियो । दुर्घटनाको कारण अझैं एकिन हुन नसकेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरिक्षक लक्ष्मण वलीले जानकारी दिएका छन् ।