
दाङ,फागुन ४ । शुक्रवार राति सल्यानमा धारिलो हतियार प्रयोग गरि हत्या गरिएकी किशोरी हत्या काण्डको अनुसन्धान गर्न कुकुर परिचालन गरिएको छ । बाँकेवाट ‘भुन्टी’ नामक कुकुर लगेर प्रहरीले हत्या काण्डको अनुसन्धान सुरु गरेको छ ।
जिल्लाको त्रिवेणी गाउँपपालिका वडा नं। १ तल्लो काभ्रा निवासी १७ बर्षीया कविता बोहराको शुक्रबार राति घर बाहिर हत्या भएको थियो । घटनाको अनुसन्धानका लागि बाँकेको नेपालगञ्जवाट प्रहरीले ‘भुन्टी’ नामक कुकुर शनिवार घटनास्थल लगेर अनुसन्धान थालेको अनुसन्धानमा खटिएका प्रहरी निरिक्षक लक्ष्मण वलीले जानकारी दिए ।
बोहोराको हत्याकाण्ड अनुसन्धानमा सघाउन पुगोस भनेर बाँकेवाट कुकुर ल्याएर शनिवार बेलुका ५ बजेतिर कुकुरसहित आफु पुगेको वलीले जानकारी दिए । यसैबीच घटनास्थलमा हत्या गरिएकी किशोरी बोहोराको मोवाइल फेला परेको वलीले जानकारी दिएका छन् ।
अब प्रहरी कल डिटेल्सको आधारमा घटनाको अनुसन्धान गर्ने तयारीमा जुटेको छ । स्थानीय विद्यालयमा कक्षा ९ मा अध्यनरत बोहोराको अगाडि घाँटी र पछाडि टाउकोको भागमा धारिलो हतियारले आक्रमण गरि विभत्स हत्या गरेको अवस्थामा शव फेला परेको प्रहरीले बताएको छ ।
कविताका अभिभावकले शुक्रबार राति ९ बजेसम्म उनले कोठमा पढिरहेको देखेका थिए । अभिभावक सुतेपछि त्यो घटना भएको देखिन आएको प्रहरीले जानकारी दिएको छ ।
उक्त दिन मध्य राततिर कविताकी दिदीको छोरा ९बालक० विरामी भएर वान्ता गर्न थालेपछि कविताको खोजी भएको थियो । खोज्दै जाँदा कविताको शव घरदेखि झन्डै १५ मिटर दुरीमा गाई बस्तु वाध्ने भकारो नजिकै फेला परेको प्रहरीले बताएको छ ।
घटनावारे अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ । कविताको शव पोष्ट मार्टमको लागि जिल्ला अस्पताल खलंगामा राखिएको छ ।