तुलसीपुर, ५ फागुन । सप्तरङ्गी इङ्लिस् मिडियम स्कुल (सक्सेस) ले आफ्नो १३औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । तुलसीपुर उपमहानगरपालिका–९ बेलुवामा रहेको उक्त विद्यालयले विभिन्न कार्यक्रम गरी आफ्नो स्थापना दिवस मनाएको हो ।
विद्यालय सञ्चालक समितिका अध्यक्ष ललितजंग शाहको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिका वडा नं ९ का वडा अध्यक्ष घनश्याम ढकालले शैक्षिक यात्रामा निजी विद्यालयले सरकारलाई सहयोग गरेको बताए ।
उनले सामुदायिक विद्यालयमा सरकारले लगानी गरे पनि शिक्षाको गुणस्तर आउन नसकेको भन्दै शिक्षाको अभावलाई संस्थागत विद्यालयले पूरा गरेको बताए । उनले भने,–विद्यालयले बालबालिकाको रूचि चाहनालाई बुझ्न सकेमात्रै शैक्षिक गुणस्तरमा अपेक्षाकृत हासिल गर्न सकिन्छ,त्यसका लागी बालबालिकाको रूचि चाहना अनुसार पठनपाठन हुुनुपर्छ ।
साथै उनले शिक्षा नीतिका कारण संस्थागत विद्यालयले खेप्नुपरेको समस्यालाई समाधानका लागि आफुले उपमहानगरपालिकाको कार्यपालिका बैठकमा कुरा उठाउने प्रतिबद्धता जाहेर गरे ।
कार्यक्रममा नेशनल प्याब्सन दाङका अध्यक्ष बिमल गौतमले दुईथरी शिक्षा नीति हुँदा संस्थागत विद्यालयले विभिन्न समस्या झेल्नु परेको बताए । उनले संस्थागत विद्यालय दक्ष जनशक्ति उत्पादनमा अब्बल देखिएपनि सरकारले साँघुरो घेरामा राख्ने प्रयास गरेको समेत बताए ।
उक्त कार्यक्रममा प्याब्सन दाङका अध्यक्ष मधुसुदन केसी, वरिष्ठ उपाध्यक्ष जीवन चौधरी, त्रिसिद्धेश्वरी राप्ती यातायात प्रालिका अध्यक्ष सुरेश हमाल लगायतले विद्यालयले शैक्षिक गुणस्तरतासँगै गरिब तथा विपन्न परिवारका बालबालिका पढ्न पाउने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए ।
सो अवसरमा विद्यालयमा उत्कृष्ट अंक ल्याउने छात्रछात्रलाई पुरस्कार वितरण गरिएको थियो ।
विद्यालयका भाइस प्रिन्सिपल प्रदिप वलीको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण विद्यालयका कोर्डिनेटर गोपाल गिरीले गरेका थिए ।
साथै उक्त विद्यालयमा अहिले ६ सय ५२ जना विद्यार्थी अध्ययन अध्यापन गरिरहेको विद्यालयका प्रिन्सिपल छविकुमार वलीले जानकारी दिए ।