तुलसीपुर, २ फागुन । वडा भित्र बालअधिकार कार्यान्वयन गर्ने एक कार्यक्रमका सरोकारवालाहरुले प्रतिबद्धता व्यक्त गरेका छन् ।
तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक बिकास शाखाको आयोजना एवं तुलसीपुर उपमहानगरपालिका वडा नं ११ को समन्बय तथा युनिसेफको सहयोगमा आयोजित बालबिबाह तथा बालश्रम विरुद्ध अन्तरक्रिया कार्यक्रममा सहभागी सरोकारवालाहरुले समुन्नत समाज र बालबालिकाहरुको उज्वल भविष्य लागि बालअधिकार संरक्षण सम्बन्धि कार्ययोजना निर्माण गरेर अगाडि बढ्ने प्रतिबद्धता ब्यक्त गरेका हुन् ।
कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले बालबालिकासंग सरोकार राख्ने सबै संस्थाहरुमा बालबालिकाहरुको प्रतिनिधित्व बनाइनुपर्नेमा जोड दिएका थिए । साथै बालश्रम नियन्त्रण गर्न सकिने अबस्थामा रहे पनी बालबिबाह नियन्त्रण गर्न चुनौती रहेकाले बालअधिकार अभियान यस तर्फ बढी केन्द्रित हुनुपर्ने सहभागिहरुले धारणा राखेका थिए ।
कार्यक्रममा तुलसीपुर ११ नम्बर वडाका अध्यक्ष चित्रबहादुर वलि, वडा सदस्यहरु घनश्याम गौतम, सुबास डाँगी, निर्मा चौधरी, तुलसीपुर ११ कि वडा सचिब अधिकृत लक्ष्मी राना, तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक बिकास साखाकी सहायक महिला निरिक्षक ललिता कंडेल, स्वास्थ्य चौकीका प्रमुख चित्र बहादुर वलि, प्रहरी चौकी जसपुरका प्रमुख प्रहरी सहायक निरीक्षक नेत्र बहादुर नेपाली, शिद्धेस्वरी महिला सहकारीका प्रबन्धक साबित्रा चापाई लगायतले धारणा राखेका थिए ।
यसैबिच तुलसीपुर ११ नम्बर वडा कार्यालयले बाल बिबाह बारे पछिल्लो अबस्था थाहा पाई नियन्त्रणको अभियान अघि बढाउनका लागि तत्काल वास्तविक तथ्यांक संकलन गर्ने योजना रहेको वडा अध्यक्ष चित्र बहादुर वलिले जानकारी गराएका थिए ।
तुलसीपुर उपमहानगरपालिका महिला बालबालिक तथा सामाजिक बिकास साखा अधिकृत माया श्रेष्ठले सहजीकरण गरेकी थिइन ।