२०८१ माघ ९ गते बुधवार

थारुको आफ्नै न्यायप्रणाली छ – सभापति देउवा


दाङ, माघ ५ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै न्याय प्रणाली रहेको बताएका छन् । शनिवार राति दाङको तुलसीपुरको डुर्मी गाउँमा बरघर मटावाँ महासंघले दाङले आयोजना गरेको माघी मिलन कार्यक्रमलाई सम्वोधन गर्दै देउवाले त्यस्तो बताएका हुन ।

। ‘थारु समुदायमा कुनै समस्या आइपरे उनीहरु अदालत जाँदैनन्,थारु अगुवा (बरघर) बसेर समस्या आफै समाधान गर्छन,’ देउवाले भने ‘त्यो नियाल्दा यो समुदाय बर्षौंदेखि एउटा आफ्नै नियममा चलेको पुष्टि हुन्छ।’

थारुहरुको आफ्नै भाषा, संस्कृति र पहिरण रहेको हुँदा त्यो संरक्षण गर्न जरुरी रहेको उनले जोड दिए ।
अहिले प्रतिपर्धाको जमाना आएको हुँदा थारुहरुले छोराछोरीलाई उच्चशिक्षा पढाउन तर्फ जोड गर्नुपर्ने उनले सुझाए । ‘थारु जातिमा हिजो शोषण भएको हो र आजपनि त्यो नभएको होईन,’ देउवाले भने ‘त्यो थारु जाति भित्रको कम्लहरी पर्थाकै कारण भएको हो र त्यो पर्था आज हटिसकेको छ।’

थारुहरुले माघीलाई नयाँ वर्षको रुपमा उल्लासको साथ मनाउने भएपनि नेपाल सबै जातजाति र भाषा भाषीको साझा थलो भएको उनले बताए । माघ १ गतेका दिन हरेक साल माघी मनाउन दाङ आउने देउवा पछिल्लो समय आफ्नै नेतृत्वको सरकारले बुटवललाई ५ नं. प्रदेशको अस्थायी राजधानी तोकेपछि आउन छोडेका थिए । तर यो पटक फेरि दाङ आएर उनले थारु संगको आफ्नो सम्वन्ध प्रगाढ बनाउन खोजेको देखिएको छ । यद्यपी उनले माघ १ गते आफु सुनसरीको थारुको निम्तो मान्न गएको हुँदा दाङ आउन केही ढिला भएको बताए । यसअघि माघमा दाङ आउँदा देउवा दंगिशरण गाउँपालिकाको एकलास स्थान चखौरामा बास बस्ने तथा माघी मनाउने गर्दथे । आइतवार देउवाले घोराहीमा मानव अधिकार संघको कार्यक्रमलाई सम्वोधन गर्ने कार्यक्रम छ ।

कार्यक्रमलाई सम्वोधन गर्दै काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री दीपक गिरीले दाङ थारु जातिको उद्गम स्थल भएको बताए । उनले थारु राजाको प्राचिन दरवार तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ स्थित सुकौराकोटको विकाशमा राज्यले सहयोग नगरेको गुनासो गरे ।

कार्यक्रममा प्रदेश सांसद डिल्लीबहादुर चौधरीले दाङलाई प्रदेश नं. ५को स्थायी राजधानी बनाउनको लागि सहयोग गर्न देउवालाई आग्रह गरे । फरक प्रशंगमा उनले थारु र मगरले निर्माण गर्ने स्थानीय मदिरा घोप्ट्याएर राज्यको कहिलै उन्नती नहुने जिकिर गरे । ‘हाम्रो उत्पादन घोप्ट्याएर फाल्ने र विदेशी मदिरा खरिदने प्रवृतिले देश कहिलै उँभो लाग्दैन,’ चौधरीले भने ‘ यसरी भ्रमण वर्ष सन २०२० पनि सफल हुन सक्दैन।’ उनले थारु र मगर जातिका स्थानीय खानपान र परिकारको संरक्षण गर्न सके पर्यटक भित्र्याउन सकिने तर्क गरे ।

बरघर मटावाँ महासंघ दाङका अध्यक्ष चन्द्रविर चौधरीको अध्यक्षका कार्यक्रम भएको हो । कार्यक्रममा थारु जातिको नृत्यहरु प्रस्तुत गरिएको थियो ।

प्रकाशित मिति : २०७६ माघ ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *