२०८१ जेष्ठ १७ गते बिहिवार

स्थानीय सरकारले रोजगारी सृजना गर्न जरुरी

यमकला भुसाल,
तुलसीपुर, मंसिर ३० । ‘सिप र रोजगार,आर्थिक समृद्धिको आधार’ भन्ने मुल नाराका साथ सोमवार तुलसीपुरमा अन्तराष्ट्रिय आप्रवासी कामदार दिवस मनाइएको छ । दिवसकै अवसरमा नमुना युवा संसद तुलसीपुर उपमहानगरपालिकाको आयोजना तथा ओरेक दाङको सहकार्यमा आप्रवासी कामदारको अवस्था र चुनौतीमा सरोकारवालाहरुको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम गरिएको छ।

कार्यक्रमका बक्ताहरुले पछिल्लो समय रोजगारको खोजिमा बिदेश जाने नेपाली कामदारको अवस्था दयनिय रहेको चर्चा गरे ।

उनीहरुले बैदेशिक रोजगारको समस्या समाधान गर्न स्थानीय सरकारले स्थानीय स्तरमै रोजगारीको सृजना गर्नुपर्ने कुरामा जोड दिए ।

नमुना युवा सांसद तुलसीपुरका राष्ट्रपति मदन भुसालले तुलसीपुर उपमहानगरपालिकाले युवाहरुलाई बेवास्ता गरेको गुनासो गरे । ‘स्थानीय स्तरमा युवाहरुको क्षमता बृद्धि गर्ने कार्यक्रम गर्न उपमहानगरपालिकामा पटक÷पटक धायांै, तर, कुनै सहयोग भएन,’ उनले भने–‘अहिले अन्य संघ सस्थाको सहयोगमा नमुना युवा संसद मुस्लिकलले चल्दै आएको छ।’

बढ्दो बेरोजगारकै कारण बैदेशिक रोजगारीमा जाने युवाहरुको संख्या थपिदै गएको प्रति चिन्ता जाहेर गरेका उनले विदेश पलायन रोक्न स्थानीय सरकार गम्भीर बन्नुपर्ने तर्क गरे ।

कार्यक्रममा ओरेक दाङका संयोजक ईश्वरी थापाले बैदेशिक रोजगारीका लागि बिदेशमा जाने ९५ प्रतिशत महिलाहरु हिंसाको जोखिममा पर्ने गरेको बताइन । जसमध्ये कम्पनीहरुमा भन्दा घरेलु कामका लागि जाने महिला बढी असुरिक्षत हुने उनको तर्क थियो ।

नमुना युवा संसदका सभामुख नवराज घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दे तुलसीपुर उपमहानगरपालिकाका कार्यबहाक प्रमुख सुर्यबहादुर डाँगीले युवाहरुको आर्थिक समृद्धिलाई जोड दिदै उपमहानगरपालिकाले तुलसीपुर विकाश बोर्ड स्थापना गर्न लागेको जानकारी दिए । उनले युवाहरुको समृद्धिका लागि उपमहानगरपालिकाले खेल्न सक्ने भूमिका खेलिरहेको भन्दै छिट्टै विकाश बोर्ड स्थापना गर्ने बताए । त्यस्तै उनले आफ्नो देशको कामलाई सम्मान गर्दे नेपालमै बसेर रोजगारी गर्न युवाहरुलाई आग्रह समेत गरे ।

त्यस्तै महिला मानव अधिकार रक्षक सञ्जाल दाङका पुर्व अध्यक्ष सुष्मा गिरीले बैदेशिक रोजगारमा जाने व्यक्तिलाई जान नदिन स्वदेशमै रोजगारीको व्यवस्था गरिदिनुपर्नेमा दिइन ।

अन्यकेही बक्ताहरुले भने हरेक वर्ष दिवस मनाउँदै आइएको भएपनि नेपालबाट वैदेशिक रोजगारीमा जाने आप्रवासी कामदारले विदेशमा भोग्नुपरेका समस्या समाधानतर्फ ठोस पहल हुन नसकिरहेको प्रति चिन्ता जाहेर गरेका छन् ।

न्यायमा पहुँच नहुनु, तोकिएको ज्याला नपाउनु, समयमै ज्याला नपाउनु, श्रम शोषण, यौन शोषण, कामबाट बिनाकारण निकालिनु, घरेलु हिंसा जस्ता समस्या आप्रवासी श्रमिकले भोग्दै आएको उनीहरुको तर्क छ ।

त्यस्तो धारणा राख्नेहरुमा तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख ओमप्रकाश न्यौपाने,ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक चक्रबहादुर डम्मरपाल,महिला मानव अधिकार रक्षक सञ्जाल दाङका सचिव पद्यमा चौधरी,तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका शाखा अधिकृत माया श्रेष्ठ,सिंड सस्थाका कार्यक्रम सयोजंक माधव चौधरी लगाएत थिए ।

ओरेक दाङका कार्यक्रम अधिकृत दीपा धितालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण कल्पना चौधरीले गरेकी हुन ।

प्रत्येक वर्ष डिसेम्बर १८ तारिखलाई अन्तराष्ट्रिय आप्रवासी कामदार दिवसको रुपमा मनाउँदै आइएको छ । सन् १९९० मा संयुक्त राष्ट्रसंघले आप्रवासी कामदार र तिनका परिवारको सदस्यको अधिकार संरक्षणसम्बन्धी महासन्धी पारित गरेको दिनको स्मरण गर्दै यो दिवस विश्वभर मनाउने गरिन्छ ।

प्रकाशित मिति : २०७६ मङ्सिर ३० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *