दाङ,मंसिर २३ । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी हेमबहादुर शाहीलाई जिल्ला प्रहरी कार्यालय बाँकेमा तानिएको छ । आइतवार कोहपुरमा भएको घटना पछि सोमवार शाहीलाई जिल्ला प्रहरी कार्यालय बाँकेमा तानिएको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले डिएसपी शाहीलाई जिल्लामा तानिएको भएपनि त्यो नियमित प्रक्रिया भएको बताए ।
सोमवारको सर्वदलिय सर्पबक्षिय छलफलवाट घटनाको छानविन गर्नको लागि एउटा समिति निर्माण गर्नको लागि सरकारलाई आग्रह गर्ने तथा घाइतेहरुको उपचार खर्च सबै राज्यले बेहोर्ने निर्णय भएको जानकारी दिए । प्रहरीले अनावश्यक वल प्रयोग गरि विद्यार्थीलाई गोली समेत चलाएको भन्दै प्रर्दशनकारीले तत्काल डिएसपी शाहीलाई कारवाही र सरुवाको माग गर्दै प्रर्दशन गर्दै आएका छन् ।
बाँकेको कोहलपुरस्थित त्रिभुवन उच्च मावि कक्षा ७ मा अध्ययनरत प्रकृति चन्दलाई ट्रकले ठक्कर दिएपछि आइतवार एकाएक कोहलपुर अशान्त बनेको थियो ।
आफ्ना बाबु संगै भे ६ प २७४० नम्वरको स्कुटर चढेर विद्यालय पुगेकी १२ बर्षीया छात्रा चन्दलाई विहान १० बज्दै गर्दा कोहलपुरवाट नेपालगञ्जतर्फ जाँदै गरेको ना २ ख ९४५९ नम्बर ट्रकले विद्यालयको गेट अगाडि ठक्कर दिएर गम्भीर घाइते बनाएपछि एकाएक कोहलपुरको माहोल तनावग्रस्त बन्न पुगेको थियो ।
आक्रोसित विद्यार्थीले ठक्करदिने ट्रकमा आगो लगाउनुका साथै अन्य एक दर्जन सवारी साधनमा पनि तोडफोड गरेका थिए । उनीहरुले ईलाका प्रहरी कार्यालय कोहलपुरको क्यान्टिममा तोडफोड र आगजनी समेत गरेका थिए । प्रहरीले दर्जनौं राउन्ट हावाई फायर, अंश्रुग्यास हान्नुको साथै गोली समेत चलाएको थियो । त्यसवाट दुई दर्जन जति विद्यार्थी र सर्वसाधारण घाइते भएका छन् ।
स्थिति नियन्त्रण भन्दा बाहिर जान थालेपछि स्थानीय प्रशासनले आइतवार दिउँसो ३ बजेदेखि अनिश्चितकालिन कफ्र्यू लगाएको थियो । तर सोमवार पनि विद्यार्थीले त्यसको व्यवास्ता गर्दै प्रहरी दमनका विरुद्ध प्रर्दशन गरेका थिए ।
प्रमुख जिल्ला अधिकारी खड्काले भने कफ्र्यू लगाएको भन्नु गलत भएको बताए । आन्दोलनकारीले कफ्र्यूको अवज्ञा गरेपछि प्रहरी प्रशासनले कफ्र्यु नलगाएको दाबी गर्न थालेको छ ।