२०८१ बैशाख ६ गते बिहिवार

पिकनिक खान जाँदा सरकारी गाडीको दुरुपयोग


दाङ,मंसिर २१ । दाङको बबई गाउँपालिकाकाको सरकारी गाडी पिकनिक खान जाँदापनि दुरुपयोग गर्ने गरिएको छ । जनताको खुन पसिनाबाट संकलित करवाट खरिद गरिएको सरकारी गाडी सार्वजनिक विदाको दिनमा समेत गाउँपालिकाका अध्यक्ष भूवनेश्वर पौडेलसहितका जनप्रतिनिधिहरुले पिकनिक खान जाने साधनको रुपमा दुरुपयोग गरेको प्रमाण फेला परेको छ ।

शनिवार गाउँपालिकाको वडा नं. ५ स्थित पुरन्धारा झरनामा वनभोज खान गाउँपालिकाका अध्यक्ष लगाएका जनप्रतिनिधि सरकारी गाडी लगेर गएको पाइएको छ ।

त्यो पिकनिक मदिरा पार्टी सहितको रहेको खुल्न आएको छ । वनभोज सकेर फर्किदै गरेको गाउँपालिकाका अध्यक्ष सवार गाडीले पैदल हिडिरहेकी बबई ५ जलुेकी निवासी देवीकला भण्डारीलाई ठक्कर दिएर घाइते बनाएको छ । भण्डारीको दाहिने खुट्टामा गाडीको टायरले किचिदिएको छ ।

वनभोज पछि फर्किदै गर्दा रेडियो हापुरेका स्टेसन म्यानेजर अर्जुन परियाले चलाएको गाडीले आफुलाई ठक्कर दिएको भण्डारीले निवेदनमा उल्लेख गरेकी छन् । कतिपय स्थानीयले परियारले सवारी चालक अनुमति पत्र (लाईसेन्स) समेत प्राप्त नगरेको भएपनि जोर जवरजस्ती गाडी चलाएको बताएका छन् ।

भण्डारीले प्रहरीलाई दिएको निवेदनमा पनि गाडी चालकले अत्यधिक मदिरा सेवन गरेको हुँदा उनले गाडी चलाउन नसकेपछि सञ्चारकर्मी परियारले गाडी चलाएको कुरा उल्लेख गरेकी छन् ।

भण्डारी घाइते भएपछि उनीसंगै वनभोजमा गएकाहरुले गाउँपालिकाको रा १ झ १५० नम्वरको सरकारी गाडी तोडफोड गरिदिएका छन् । शनिवार बेलुका ४ बजेतिर पैदल हिडिरहेकी भण्डारीलाई गाडीले किचेपछि नजिकै पिकनिकमा खान गएकाहरुले गाडी तोडफोड गरेको प्रत्यक्षदर्सीले बताएका छन् । त्यहाँ शनिवार नेपाली काँग्रेसका स्थानीय नेता कार्यकर्ता समेत छुट्टै पिकनिक खान गएको घटनाका एक प्रत्यक्षदर्सीले बताए । भण्डारी घाइते भएपछि नेपाली काँग्रेसका नेता कार्यकर्ता विरोधमा उत्रिएको तथा केहीले गाडीमा ढुङ्गा समेत हानेको उनले बताए । तर काँग्रेसका नेताहरुले भने आक्रोसित स्थानीयले मात्रै गाडी तोडफोड गरेको जिकिर गरे ।

त्यही क्रममा मातेका चालकले जसोतसो गाडी भगाउन खोज्दा गाडी फेरि अनियन्त्रित भएर अर्कौ कलभर्टमा ठोक्काएको हुँदा गाडीको अगाडि भागमा केही क्षति पुगेको अर्का एक प्रत्यक्षदर्सीले दाबी गरे ।

त्यसपछि लगतै त्यहाँ दुई गाडी सुरक्षाकर्मी पुगेर गाडी नियन्त्रणमा लिएका थिए । मदिरा सेवन गरेका भनिएका चालक भने फरार भएको र खोजी भइरहेको प्रहरीले बताएको छ ।

ईलाका प्रहरी कार्यालय पञ्चकुलेवाट प्रहरी पुगेर गाडी नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी विनोद विक्रम शाहले जानकारी दिए ।उनले कोही कसैलाई नियन्त्रणमा राखेको बारे केही जानकारी दिएनन् । घटनावारे आइतवार छलफल गरेर दोषीलाई कारवाही गर्ने दृढता डिएसपी शाहले व्यक्त गरे ।

घटनावारे बुझ्न खोज्दा गाउँपालिकाका अध्यक्ष भूवनेश्वर पौडेल भने सम्पर्कमा आउन चाहेनन् । यो खवर तयार पार्दासम्म घाइते महिला देवीकला भण्डारीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको जानकारी दिइएको छ ।

प्रकाशित मिति : २०७६ मङ्सिर २१ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *