दाङ,मंसिर १९ । ‘हामीले यता दाङ ३ (ख) मा वाचा पुरा गरेर देखायौं,अब पार्टी केन्द्रले आफ्नो वाचा पुरा गरोस, क. शोभाराम बस्नेतलाई पनि न्याय होस।’ यी शब्द तुलसीपुरका मेयर घनश्याम पाण्डेका हुन । उनको सामाजिक सञ्जालमा यो स्ट्याटस आजपनि छ ।
यो मेयर पाण्डेले मंसिर १६ गते विहान ३ बजेर ११ मिनेट जाँदा आफ्नो फेसबुक वालमा लेखेको स्ट्याटस हो ।
मंसिर १४ गते भएको उपनिर्वाचनको परिनाम सार्वजनिक भए पछि मेयर पाण्डेले यो स्ट्याटस लेखेका हुन ।
शोभाराम बस्नेत पूर्व नेकपा एमाले दाङका एक संस्थापक नेता हुन । धेरैका शब्दमा नेता बस्नेत ‘बा’ हुन । उपनिर्वाचन पूर्व बस्नेतले आफुलाई प्रदेशसभा सदस्य पदको उम्मेदवारको रुपमा प्रस्तुत गर्दै आएका थिए ।
सार्वजनिक सञ्चार माध्यमा पनि उनले त्यही अभिव्यक्ति दिएका थिए । तर, टिकेट वितरण पूर्व नेकपा सचिवालय बैठकमा नेताहरुका बीचमा एउटा सहमति भयो । टिकेट विमला वलीलाई दिने र बस्नेतलाई राष्ट्रियसभा सदस्य बनाउने । यद्यपी यो लिखित थिएन, मौखिक सहमति मात्रै थियो । त्यही आश्वासनका आधारमा बस्नेतले प्रदेशसभा सदस्य पदको दाबी छोडे । विमला वलीलाई विजयी बनाउन बस्नेत रातदिन खटिए । मरिमेटेर लागि परे ।
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पनि दोघरेमा आयोजित चुनावी सभालाई सम्वोधन गर्दै बस्नेतलाई राष्ट्रियसभा सदस्य बनाउने बारे भएको सहमति बारे बोलेका थिए । उनले मतदातालाई नेकपाकी उम्मेदवार विमला वलीलाई विजयी बनाउन सबै नेता कार्यकर्ता एक भएर लाग्न आग्रह गर्दै निर्वाचनको परिनाम आए लगतै नेता शोभराम बस्नेतलाई सहमति अनुसार राष्ट्रियसभा सदस्य बनाउने स्पष्ट रुपमा बताएका थिए ।
प्रचण्डको त्यो अभिव्यक्तिको नेता कार्यकर्ताले तालिले स्वागत गरेका थिए । प्रचण्डले सार्वजनिक रुपमै आफुलाई राष्ट्रियसभा सदस्य बनाउने भन्ने अभिव्यक्ति दिएपछि संगै बसेका शोभाराम बस्नेतपनि निकै प्रफुल्ल बनेका देखिन्थे ।
तर, शोभाराम बस्नेतलाई भने त्यति आशाबादी सुनिएनन् । प्रचण्डको बोलिको विश्वास नरहेको भन्दै नेता बस्नेतले आफुलाई राष्ट्रियसभा सदस्य बनाउलान भन्ने विश्वासन नलागेको बताए । अघिल्लो निर्वाचनमा बागी उम्मेदवारी दिएका नेकपाका नेता कुवेर वलीलाई समेत प्रचण्डले सार्वजनिक रुपमै राष्ट्रियसभा सदस्यमा मनोनित गर्ने अभिव्यक्ति दिएको हुँदा आफुलाई पनि नेताहरुले कुवेर वली जस्तै बनाउने खतरा रहेको नेता बस्नेतले आशंका व्यक्त गरे ।
‘मलाई पनि कुवेरजीलाई जस्तै प्रचण्डले भाषणमा मात्रै माननिय बनाएका हुन कि भन्ने भान हुन थालेको छ,’ बस्नेतले भने ‘जवसम्म व्यवहारमा देखिदैन तव सम्म प्रचण्डको वादा पत्याउने आधार रहँदैन।’ आफुलाई राजनीतिक रुपमा ‘झल्लो’ बनाउने षडेन्त्र हुन सक्ने उनले बताए । ‘यत्ति बुझ्नुहोस म धेरै आशावादी छैन र मलाई नवनाएपनि निराश हुनेपनि छैन,’ नेता बस्नेतले भने ‘राजनीति इमानको हुनुपर्छ, जालझेलको राजनीति धेरै दिगो हुन सक्दैन।’
बस्नेतलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्ने सवालमा नेकपाका अझैंसम्म त्यस्तो कुनै कसरत नभइसकेको एक केन्द्रीय नेताले बताए ।