दाङ,मंसिर १३ । दलीय सहमति भए घोराही १६ को उपनिर्वाचनको मतगणना आजै सुरु हुने जिल्ला सुरक्षा समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताएका छन् । प्रमुख जिल्ला अधिकारी रिजालले तत्काल गणना सुरु गर्दा प्रक्रिया सहज हुने र भोलिपल्ट गर्दा झन्झटिलो हुने हुँदा दलहरुको सहमतिमा आजै गणना सुरु गर्ने तयारीमा रहेको बताए ।
‘राजनीतिक दलहरुका बीचमा दलीय सहमति भए शनिवार साँझ ६-७ बजेदेखि नै मतगणना सुरु गर्छौं’–प्रमुख जिल्ला अधिकारी रिजालले भने – ‘मतगणनाका विषयमा दलहरुका बीचमा कस्तो सहमति हुन्छ, त्यसमा निर्भर रहन्छ ।’
घोराही उपमहानगरपालिका वडा नं. १६ सदरमुकाम नजिकै भएकाले मतपेटिकाहरु समयमै संकलन हुने हुँदा गणनाको तयारी सम्भव भएको उनले बताए । प्रमुख जिल्ला अधिकारी रिजालका अनुसार घोराही उपमहानगरपालिका वडा नं. १६ को मतगणना दाङ देउखुरी जिल्ला अदालतको परिसरभित्र गरिने व्यवस्था मिलाइएको छ । त्यस्तै प्रतिनिधिसभा क्षेत्र नं. ३ (ख) को मतगणना भने आइतवार विहानदेखि गरिने भएको छ ।
उक्त क्षेत्रका केही मतदान स्थल विकट क्षेत्रमा रहेको मतपत्र ल्याउन समय लाग्ने भएकाले प्रदेशसभाको मतगणना आइतवार गर्ने व्यवस्था मिलाइएको रिजालले बताएका छन् । प्रदेशसभाको मतगणना जिल्ला समन्वय समितिको सभा हलमा गरिने भएको छ ।
शनिवार साँझदेखि नै मतगणना गर्नका लागि प्राविधिक रुपमा सम्पूर्ण तयारी पूरा गरिएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले बताए । उनले सम्पूर्ण मतदातालाई निर्धक र भयरहित भए आफनो स्वतन्त्र र वहुमूल्य मतदान गर्न सम्पूर्ण मतदातालाई आग्रह गरेका छन् ।