दाङ, मंसिर ८ । प्रदेश नम्वर पाँचका मुख्यमन्त्री शंकर पोखरेलले विकास र सम्वृद्धिका लागि नेकपालाई मतदान आग्रह गरेका छन् । आइतवार तुलसीपुर उपमहानगरपालिका वडा नं. १० को पढ्ढामा आयोजित चुनावी सभालाई सम्वोधन गर्दै मुख्यमन्त्री पोखरेलले विकास र सम्वृद्धि नेकपाबाट मात्रै सम्भव रहेको दाबी गरे ।
‘काँग्रेसले लामो समयसम्म शासन चलाउँदा गर्न नसकेका काम नेकपाले छोटो अवधिमै गरेको छ,’ पोखरेलले भने ‘ विकासको चाहना भए नेकपाका उम्मेवारलाई जिताउनु होला।’
उनले काँगेसले विकासका नाममा भ्रष्टाचार मात्रै गरेको दोषारोपन गरे । त्यस्तै उनले काँग्रेसले विकास निर्माणका काममा अबरोध सिर्जना गर्ने गरेको जिकिर गर्दै त्यही भएर कयौँ काम हुन ढिला भएको तर्क गरे । नेकपाकी सचेतक शान्ता चौधरीले समानता र समानुपातिक विकासका लागि नेकपाले चुनाव जित्नुपर्ने बताइन । उनले काँग्रेसलाई सामन्तवादको गुरुको संज्ञा दिइन ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य जकप्रसाद शर्मा‘अपार’ले काँग्रेसले चुनाव जिते दाङ विकासको दृष्टिकोणले ५० बर्ष पछि धकिलिने जिकिर गरे । चुनावी सभालाई सम्बोधन गर्दै नेकपाकी प्रदेश सभा सदस्यका उमेद्वार विमला वलीले आफूले चुनाव जिते जनताको सुखदुःखमा साथ दिने बताइन ।