दाङ,मंसिर ६ । निर्वाचनको संघारमा गाउँमा विद्युत पोल वितरण गरिएपछि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले विरोध जनाएको छ । दाङको निर्वाचन क्षेत्र नं. ३ (२) अन्तरगतको तुलसीपुर उपमहानगरपालिका वडा नं. २ भमके गाउँमा विहीवार मात्रै सात वटा विद्युत पोल लगिएको छ ।
उक्त कुरालाई लिएर नेपाली काँग्रेले विरोध जनाएपछि शुक्रवार अस्थायी प्रहरी चौकी बालापुरमा सत्तासिन दल नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रतिनिधिका बीचमा छलफल भएको छ ।
नेपाली काँग्रेसका जिल्ला सदस्य हरिप्रशाद भुसालले सत्तासिन दल नेकपाले मतदातालाई प्रभावित तुल्याउन आचारसंहिता विपरित गाउँमा पोल झारेको भन्दै आपत्ति जनाएका छन् । ‘ कि मनोनयन दर्ता हुने भन्दा पहिला पोल झार्नु पर्दथ्यो,कि मंसिर १४ पछि ल्याउनु पर्दथ्यो,’ भुसालले भने ‘निर्वाचनको संघरमा आएर पोल झार्नु भनेको नेकपाको मिचाहा प्रवृती हो, आचारसंहिताको सरासर उलंघन हो।’
छलफलमा पुगेका नेकपा जिल्ला कमिटी सदस्य विनोद शर्माले आफुहरुले विधिलाई उलंघन गर्न नचाहेको र नियमित प्रक्रियावाट पोलहरु आएको दाबी गरे । ‘यो नियतवस गरिएको हैन, संयोग त्यस्तै परेको हो,’ उनले भने ‘अब फेरि यो गल्ती दोहरीदैन, हामी अब पोल ल्याउन रोक्ने छौं।’
प्रहरी चौकीको छलफलमा पुगेका नेपाली काँग्रेसवाट निर्वाचित वडा अध्यक्ष राजु आचार्यले पनि आफुलाई कुनै जानकारी नै नदिएर नेकपाले मतदाता प्रभावित पार्न आचारसंहिता विपरित पोल झारेको भन्दै आपत्ति जनाएका थिए । ‘मलाई कुनै जानकारी नै नदिएर पोल झारिएको छ, यो आचारसंहिताको उलंघन हो, यस्ता कार्य तत्काल रोकियोस।’
आफुहरु विकास विरोधी नभएको भन्दै उनले निर्वाचनको पूर्वसन्ध्यामा विधि र पद्धति विपरित आफुसंग सररल्लाह तथा कुनैपनि समन्वय नै नगरी पोल झारिएको प्रति आश्चर्य व्यक्त गरे । ‘ अघिपछि ७ वटा हैन ७ सय वटा पोलहरु झारेपनि हुन्छ,’ आर्चाले भने ‘ तर, निर्वाचन आचारसंहिता विपरित विधि र प्रक्रिया विपरित मनपरी गर्नु घोर आपत्ति जनक कार्य हो ।’
उनले तुलसीपुरका मेयर घनश्याम पाण्डेले नीजि सम्पत्ति जस्तै गरि आचारसंहिता विपरितका गतिविधि वडामा फेरि नगर्न चेतावनी दिए । ‘ के यो वडा मेयरको नीजि सम्पत्ति हो, विधि र प्रक्रिया मिचेर मनपरी गर्ने, कि यो केपी ओलीको नीजि सम्पत्ति हो,’ वडा अध्यक्ष आचार्यले भने । छलफल स्थलवाटै वडा अध्यक्ष आचार्यले मेयर पाण्डेलाई फोन गरेर निर्वाचन आचारसंहिता विपरितका कार्य गरेको भन्दै असन्तुष्टि जनाएका थिए ।
त्यही क्रममा नेकपाका अम्बिका गिरीले वडा कार्यालयले आफुहरुलाई योजना छनौटमा बाइपास गर्दै आएको भन्दै मेयर पाण्डेको बचाउन गर्न खोजेका थिए । जवाफमा वडा अध्यक्षले मेयरले पनि योजना छनौट गर्दा कसैलाई नबोलाउने गरेको तथा त्यो सिस्टम अनुसार हुने कुरा भएको तर्क प्रस्तुत गरेका थिए ।
नेपाली काँग्रेसका वडा ईकाइ सभापति भिमबहादुर वलीले पनि निर्वाचनको मुखमा आएर सत्तासिन दलले शक्ति र सत्ताको दुरुपयोग गर्दै आचारसंहिता उलंघन गरेको भन्दै तत्काल त्यो रोक्न आग्रह गरेका थिए । उक्त छलफलमा नेपाली काँग्रेसका नेता किरण शाह लगाएका अन्य नेता कार्यकर्तापनि सहभागी रहेका थिए ।
अन्त्यमा उक्त सर्वपक्षिय छलफलका सहभागिले अब कुनैपनि पक्षवाट आचारसंहिता उलंघन हुने खालका क्रियाकलाप नगर्ने प्रतिवद्धता जाहेर गरेका थिए । उनीहरुले आ–आफ्नो पार्टीबाट भए गरेका चारसंहिता विपरितका कार्य नियन्त्रण गर्न अग्रसर हुने बताएका थिए ।