राजेश खत्री,
दाङ,मंसिर ४ । घोराहीमा एक युवाले प्रयोग गरेर फालेका टायरवाट फर्निचर निर्माण गरेका छन् । भित्ताहरु जुटका बोरामा आकर्षक पेन्टिङ गरेर सजाएका छन् । त्यसैगरी फर्निचर उद्योगबाट काठमा स–सना गोलिएको प्रयोग गरेर आकर्षक फर्निचर निर्माण गरिएको छ । ती टायरहरु अधिकाँस सडकबाट संकलन गरिएका हुन । कति टायर ग्यारेजबाट २५ देखि ५० रुपैंयामा खरिद गरिएका रहेछन् ।
परेङ्गो रंगाएर त्यसलाई विद्युतिय वल्व बाल्न सजाइएको छ । यसरी प्रयोग गरि फालिएका चिजबस्तुलाई थोरै कला मिसाएर पुनः प्रयोगमा ल्याउने संभावनाको खोजी गर्ने व्यक्ति २४ बर्षीय युवा समिर वली हुन । जस्ले यूटवमा हेरेर जिल्लामै पहिलो पटक नौंलो प्रकृतिको चिया घर सञ्चालनमा ल्याएका छन् ।
घोराही उपमहानगरपालिका वडा नं. १२ निवासी वली हाल महेन्द्र बहुमुखी क्याम्पस घोराहीमा राजनीति शास्त्र विषय लिएर अन्तिम वर्षमा अध्यनरत छन् । विगत ६ बर्षदेखि उनी पुरानो राप्ती बस व्यवसायी समितिको कर्मचारीको रुपमा कार्यरत छन् । अझैं रोचक कुरा वली हाल घोराही उपमहानगरपालिका वडा नं. १६ मा मंसिर १४ गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष पदका एकजना उम्मेदवार पनि हुन । उनी स्वतन्त्र रुपमा चुनावी मैदानमा होमिएका छन् ।
काठमान्डौं लगाएका ठूला सहरहरुमा यसअघि यस्तै प्रकृतिका रेष्टु रेष्टहरु सञ्चालनमा आएका थिए । तर दाङ जिल्लामा भने उपयोग विहिन बस्तुहरुलाई रचनात्मक रुपमा र कलात्मक ढंगले पुनः प्रयोगमा ल्याएर चिया घर निर्माण तथा सञ्चालन गरिएको घटना भने पहिलो हो । नयाँ ढंगले सञ्चालन गरिएको त्यो चिया घर हेर्न ग्राहकहरुको बाक्लो उपस्थिति हुने गरेको छ ।
यो चिया घरमा पुग्ने जो कोही चियाका पारखीहरुले विभिन्न १६ प्रकारको चिया पिउन पाउँछन् । चियापनि माटोको कपमा खान दिइन्छ । ती माटाका कप जिल्लामै उत्पादन हुँदै आएको छ । तुलसीपुरको पर्सेनीस्थित कुमाल गाउँवाट प्रतिकप ४ रुपैंमा खरिद गर्दै आएको सञ्चालक वलीले बताए । समिरको प्रयासले माटोको भाँडा वर्तन निर्माण गर्नेहरु पनि उत्साहित भएका छन् । स्थानीयको कला र मेहनतले बजार पाएको छ ।
यो चिया घरमा ग्राहक बनेर पुग्ने जो सुकैले कसरी उपयोग हिन बस्तुलाई पुनः प्रयोग गर्न सकिदो रहेछ भन्ने नियाल्न पाउँछ । त्यसवाट उस्ले ठूलो शिक्षा र प्रेरणा प्राप्त गर्न सक्छ ।
अर्कौकुरा पनि यहाँ अनौठो छ । तपाँईले चिया वा कफि पिएको माटोको कपमा चिया पिएर सकेपछि मनको कुरासहित हस्ताक्षर गर्न पाउनु हुन्छ । ‘तपाँईले चिया पिउँदै गर्दा के कुरा मिस गरिरहनु भएको थियो वा कसैलाई याद गरिरहनु भएको थियो कि ? त्यही व्यक्ति वा संस्थाको नाम लेख्न सक्नु हुन्छ,’ सञ्चालक वलीले भने । ग्राहकले हस्ताक्षर गरेर राखेका थुप्रै चिया खाएका माटाका कपहरु त्यहाँ सजाएर राखिएको छ । ‘यी कपहरु फालिने छैन, तपाँई पछि फेरि आएर आफ्नो हस्ताक्षर भएको कप हेर्न सक्नु हुनेछ,’ वलीले भने ।
चिया पिई सकेपछि पहिलो पटक त्यहाँ पुग्ने जो कोहीलाई सञ्चालक वलीले केही लेख्न सुझाउँछन् । चिया वा कफिको बारेमा सल्लाह सुझाव दिनपनि आग्रह गर्छन । ‘संभावनाहरुको खोजी गर्ने हो, जिल्लामा उत्पादन हुने बस्तुहरुबाटै जिल्लाको पहिचान स्थापित गर्ने ढंगले चिया घर सञ्चालन गर्ने मेरो उदेश्य हो,’ वलीले भने ।
यसरी प्रयोग विहीन बस्तुलाई पुनः प्रयोगमा ल्याएर व्यवसाय सञ्चालन गर्दा एकातर्फ लागत कम पर्न गएको छ भने अर्कौ तर्फ फोहर व्यवस्थापनमा पनि सघाउ पुग्ने देखिन्छ ।