दाङ,कात्तिक २० । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले भारतले नेपालको सीमा मिचेर सार्वजनिक गरेको नक्शा तत्काल खारेज गर्न नेपाल सरकार संग माग गरेका छन् ।
बुधवार राप्रपाले तुलसीपुरमा गरेको चुनावी सभालाई सम्वोधन गर्दै पूर्व उपप्रधान तथा परराष्ट्र मन्त्री समेत रहेका थापाले नेपालको अभिभाज्य भूमि कब्जा गर्ने कार्य अतेन्तै आपत्ति जनक रहेको बताए । भारतले धेरै लामो समयदेखि कालापानी र लिपुलेकमा अनाधिकृत रुपमा कब्जागर्दै आएको भएपनि त्यसलाई नेपालले निरन्तर विरोध गर्दै आइरहेको अध्यक्ष थापाले बताए । भारत सरकारले प्रकासित गरेको आधिकारीक भारतको नक्सामा कालापानी र लिपुलेकलाई भारतप्रति पारिएको भन्दै उनले त्यसको विरोध गरे । त्यो कदापी स्वीकार्य नभएको अध्यक्ष थापाले स्पष्ट पारे ।
‘नेपालको सीमा अतिक्रमण गर्ने कुरा होस वा नेपालमा आफ्नो स्वार्थ लाद्ने कुरा होस त्यसमा विदेशीहरुको मनोवल बढेर गएको देखिन्छ,’ अध्यक्ष थापाले भने ‘ हाम्रा देशका ठूला नेताहरुको लाचारीले गर्दाखेरी,आत्मसर्मपनवादी नीतिको कारणले गर्दाखेरी,सत्तामा पुग्न र सत्तामा पुगेपछि टिकेर बस्न विदेशीको चाकडी गर्ने स्थितिको कारणले आज नेपालीको शिर निहुेरेको छ।’ उनले नेपाल र नेपालीलाई हेप्ने काम भए त्यो कदापी स्वीकार्य नहुने चेतावनी दिए ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हिजोको जस्तै राष्ट्रियबादी सोच किन कमजोर भयो भन्ने प्रश्न पनि गरे ? विगतमा प्रधानमन्त्रीले अडान लिएको कारणले गर्दाखेरी जनताले दुईतिहाई बहुमत दिएको भएपनि पछिल्लो समय पटक ÷पटक राष्ट्रियताको सवालमा गम्भीर सवाल उठ्दा समेत चुप लागेको भन्दै उनले आश्चर्य व्यक्त गरे । ‘ प्रधानमन्त्रीज्यू, नेपालको राष्ट्रियतामाथि खेलवाड हुँदा खेरी, विदेशीको दबाब र हस्तक्षेप हुँदाखेरी तपाँई किन निरही भएर बस्नु भएको छ,’ अध्यक्ष थापाले प्रश्न गरे । उनले नेपाली भूभाग कालापानी र लिपुलेकलाई आफ्नो नक्शामा पारेको हुँदा त्यसलाई नेपाल सरकारले तुरुन्तै अस्विकार गर्नुपर्ने माग गरे । उनले भारत सरकार समक्ष कुटनैतिक माध्यमवाट प्रतिवाद गर्न अध्यक्ष थापाले प्रधानमन्त्रीलाई आग्रह गरे ।
उनले सरकार र सत्तासिन ठूला दलहरु राष्ट्रियताको सवालमा निरही रहेको भन्दै चिन्ता जाहेर गरेका थिए ।
अध्यक्ष थापाले विगतमा नेपाली काँग्रेस नेकपा एमालेले तत्कालिन माओवादीलाई शान्ति प्रक्रियामा ल्याएको स्मरण गराउँदै विप्लवको समस्यापनि दमन भन्दापनि वार्ता र सम्वाद मार्फत समाधान गर्न आग्रह गरे । उनले स्वतन्त्र नागरिक भएर राप्रपाको पक्षमा मतदान गर्न आग्रह गरे ।