जनकपुर, असोज २९ । राष्ट्रिय जनता पार्टी नेपालले बधुवार बिहान पूर्व पश्चिम राजमार्गमा चक्काजाम गरेको छ ।
पक्राउ परेका प्रतिनिधि सभाका सांसद प्रमोदकुमार साहलाई रिहा गर्नुपर्ने माग गर्दै बिहान ८ बजेदेखि ९ बजेसम्म चक्काजाम गरिएको थियो । सांसद साहको रिहाइको माग गर्दै राजपा नेपालका नेता तथा कार्यकताहरुले प्रहरी प्रशासन र बुद्ध एयरका विरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका थिए ।
राजपा नेपालले जनकपुरमा रहेको बुद्ध एयरको कार्यालयमा तालाबन्दी गर्ने तथा हवाई टिकट काट्न समेत नदिने चेतावनी दिएको छ । प्रतिनिधिसभा सदस्य प्रमोदकुमार साहलाई जनकपुर विमानस्थलमा रहेको बुद्ध एयरको काउन्टरमा तोडफोड गरेपछि प्रहरीले मंगलवार पक्राउ गरेको थियो ।
विमान आउन ढिला भएको भन्दै उनले काउन्टरमा तोडफोड गर्नुका साथै कर्मचारी माथिपनि अभद्र व्यवहार गरेका थिए । सांसद साहलाई आज धनुषा जिल्ला अदालतमा पेस गर्ने तयारी प्रहरीले गरेको छ ।