काठमाडौं, असोज ५ । रेडियो नेपालको दिपायल प्रसारण केन्द्रबाट निकालिएका पत्रकारहरूको पुनर्बहालीको माग गर्दै नेपाल पत्रकार महासंघले आइतवार सिंहदरबार छेउमा धर्ना दिएको छ। लामो समयदेखि प्रसारण केन्द्रमा काम गर्दै आएका डोटीका पत्रकार सुनिता रावल, प्रकाश बम र चक्र कुँवरलाई एक महिना अघि रेडियो नेपाल व्यवस्थापनले निकालेको थियो।
उनीहरूको पुनर्बहालीको माग गर्दै पत्रकार महासंघ आन्दोलनमा उत्रिएको उपाध्यक्ष विपुल पोखुलले बताए । धर्ना पछि सम्बोधन गर्दै महासंघ उपाध्यक्ष विपुल पोख्रेलले राजनीतिक आस्थाका आधारमा श्रमजीवी पत्रकारलाई सरकारले निकाल्नु घोर अत्याचार भएको बताए ।
उनले कलमजीबी पत्रकार जिस्क्याउनेहरू विरुद्ध इतिहास देखि नै लड्दै आएको हुँदा त्यो लडाई कायमै रहेको बताए । ‘महासंघलाई चलाउनेहरु सिद्धिएको इतिहास छ,’ उपाध्यक्ष पोखरेलले भने ‘ सरकारले बेलैमा गल्ति नसच्याए फेरि त्यही इतिहास दोहोरिन सक्छ।’
धर्नामा महासंघका महासचिव रमेश विष्टले श्रमजिवी पत्रकारलाई समेत विभेदको आँखाले हेर्नुले सरकारको नियत छताछुल्ल भएको बताए । त्यस अवसरमा सचिव रामप्रसाद दाहाल, प्रेस युनियनका बाला अधिकारी, मधेसी पत्रकार मन्चका मोहन सिंह, महासंघ काठमाडौं अध्यक्ष शान्ताराम बिडारी, रेडियो नेपाल शाखाका दुर्गा फुयाललगायतले निकालिएका पत्रकारलाई तत्काल पुनर्बहाली नगरे आन्दोलन चर्काउने चेतावनी दिएका थिए ।