२०८१ बैशाख ६ गते बिहिवार

दाङमा गरियो बोगटीको सम्झना


दाङ, ३० भदौ । दश बर्षे जनयुद्धको आधार क्षेत्र पश्चिम कमाण्डको नेतृत्व गर्ने माओवादी नेता पोष्टबहादुर बोगटी ‘दिवाकर’को स्मृति दिवस दाङमा मनाइएको छ । पोष्टबहादुर बोगटीस्मृति प्रतिष्ठान दाङ शाखाले घोराहीमा स्मृति सभा गरेको हो । उनको २०७१ भदौ ३० गते निधन भएको थियो ।

सभालाई सम्वोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं ५ नम्बर प्रदेश सचिव जगप्रसाद शर्मा ‘अपार’ले बोगटी नभइ दिएको भए नेपाली राजनीति यति चाँडो यो स्थितिमा नआउने बताए । अहिलेका सबै एजेण्डा जनयुद्धले स्थापित गरेको र त्यो जनयुद्ध सफल बनाउने मुख्य व्यक्ति नै बोगटी भएको उनले बताए । जनताको बीचमा रहेर पार्टीको नीति लागु गर्ने बोगटी एक जननेता भएको औल्याउँदै उनले पार्टीका शीर्ष नेताहरुलाई सन्तुलनमा राख्नेदेखि युवाहरुलाई उत्साहित गरेर जनयुद्धमा कमाण्डर र सदस्य बनाउने काम बोगटीले नै गरेको स्मरण गरे । बोगटीको गुणको अनुशरण गरेर पार्टी निर्माण गर्नुपर्ने उनले बताए ।

बिशिष्ट अतिथि पोष्टबहादुर स्मृति प्रतिष्ठानका केन्द्रीय सदस्य निर्मल आचार्यले सामाजिक क्षेत्रबाट स्थापित नेता भएको औल्याउँदै बोगटीको दूरदर्शी राजनीतिक सोंच आजपर्यन्त लागु भइरहेको तर्क गरे । नेपाल कम्युनिष्ट दाङका संस्थापक सचिव नारायणप्रसाद शर्माले आजका दिनमा इमान्दार कम्युनिष्टको भूमिका खोजी गर्नुपर्ने अवस्था आएको बताए ।
नेकपाका केन्द्रीय सदस्य एवं दाङ इञ्चार्ज जीवन गौतमले बोगटीको निष्ठा र क्रान्तिकारितालाई पछ्याउन सके मात्रै स्मृति दिवस मनाउनुको सार्थकता हुने धारणा राखे ।

प्रतिष्ठानका अध्यक्ष नरबहादुर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका केन्द्रीय सदस्यहरु तिलक शर्मा, इन्द्रजीत थारु, दामाकुमारी शर्मा र नारायणी शर्माले मनतब्य राखेका थिए । उपाध्यक्ष रमणकुमार शर्माको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव नरेन्द्र केसीले गरेका हुन ।

प्रकाशित मिति : २०७६ भाद्र ३० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *