दाङ,भदौ २९ । विभिन्न घटानामा परि दाङमा आइतवार दुई जनाको मृत्यु भएको छ भने एकजना बेपत्ता रहेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ हाडिमे डाँडागाँउमा ५÷६ महिनाको नवजात सिशु मृत फेला परेका छन् । आइतवार बेलुका ६ बजेतिर स्थानीय फागुना चौधरीको मकै बारीमा ती सिशु मृत फेला परेका छन् । घटनावारे अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।
त्यस्तै घोराहीमा आइतवार बेलुका कविर ७ बजेतिर करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । करेन्ट लागेर कञ्चनपुर जिल्लाको लालझरी गाउँपालिका वडा नं. ६ निवासी २३ बर्षीय शिवराज चौधरीको मृत्यु भएको छ ।
चौधरी घोराही उपमहानगरपालिका वडा नं. १६ गुर्जेखोलाको पुल नजिकै पुल निर्माणको काम गर्न त्यस नजिकै टहरा निर्माण गरि बसेका थिए । टहरामा विद्युत वाईरिङ गर्ने क्रममा दाहिने हातमा करेन्ट लागेर गम्भीर घाइते भएका चौधरीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।