२०८३ असार १३ गते शनिवार

एकैदिन सल्यानका १० विद्यालयमा पुस्तकालय उद्घाटन


सल्यान, २९ भदौ ।
सल्यानमा पुस्तकालय स्थापना कार्यले तिब्रता पाएको छ । विभिन्न परियोजनाले स्थानीय तहहरुसँग साझेदारी गरेर सामुदायीक विद्यालयमा पुस्तकालय स्थापना कार्य अगाडि बढाएका छन् । कतिपय स्थानीय तहहरुले आफै पहल गरेर पुस्तकालय स्थापना गरेका छन् । शिक्षा नियमावली अनुसार पनि हरेक विद्यालयमा पुस्तकालय अनिवार्य हुनुपर्ने भएपछि र यसको महत्व बुझेपछि जिल्लामा पुस्तकालय स्थापना कार्यले तिब्रता पाएको हो ।

बाल दिवसको अवसरमा सल्यानमा आइतबार कुमाख गाउँपालिका र कपुरकोट गाउँपालिकामा पुस्तकालय उद्घाटन गरिएको छ । कपुरकोट, ५ स्थित सिद्ध आधारभूत विद्यालय खालीमा पुस्तकालय स्थापना गरेर चार हजार चार सय ३१ पुस्तक राखिएको छ । गाउँपालिका राष्ट्रिय महासंघ कर्णाली प्रदेशका अध्यक्ष भिम बहादुर सेनले पुस्तकालयको उद्घाटन गरे ।

कपुरकोट गाउँपालिका र पढ्नका लागि कोठा (रुम टु रिड) कार्यक्रमको साझेदारीमा पुस्तकालय स्थापना गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दोर्ण बहादुर केसीले बताए । गाउँपालिकाले ६ लाख ५० हजार रुपैयाँको लागतमा तीन हजार सात सय ९२ पुस्तकको ब्यवस्था गरेको छ भने रुम टु रिडले ६ सय ३९ पुस्तकसहित पुस्तकालयको व्यस्थापन गरेको उनले बताए ।

पढ्नका लागि कोठा तथा रूम टु रिडको सहयोगमा जिल्लाको १० वटा विद्यालयमा आइतबार पुस्तकलय उद्घाटन गरिएको रूम टु रिडका प्रमुख बाबुराम पोख्रेलले जानकारी दिए । सिद्ध अधारभूत विद्यालय कपुरकोट खालीसहित बालकल्याण मावि कोटबारा, बालकल्याण आधारभूत विद्यालय सिद्धकुमाख, जनविकास आधारभूत विद्यालय ओख्रेनी, त्रिभुवन जनता मावि मार्के, राधेश्याम मावि कारागिठी, सरस्वती आधारभूत विद्यालय रानीपोखरी छत्रेश्वरी, लक्ष्मी मावि झिम्पे, लक्ष्मी मावि पोखरीडाँडा र भवानी मावि छाँयानाथलगायतका स्थानमा पुस्तकालय उद्घाटन गरिएको हो ।

विद्यालय तहका बालबालिकाको पढ्ने अधिकारको सुनिश्चित गर्न तथा सानो उमेरमै पढ्ने सिप र बानीको विकास गर्न रूम टु रिडले दलित विकास समाजसँगको साझेदारीमा जिल्लाका ५४ विद्यालयमा पुस्तकालय अभियान सम्पन्न गरेको जनाएको छ । सिद्ध आधारभूत विद्यालय कपुरकोट खालीमा पुस्तकालय उद्घाटन गर्दै महासंघका अध्यक्ष भिम बहादुर सेनले पुस्तकालयमा नियमित विद्यार्थीलाई पढ्ने बानी बसालेर पाठ्यपुस्तक बाहिरका विभिन्न ज्ञान प्रदान गर्नुपर्ने बताए ।

कपुरकोट गाउँपालिकाका अध्यक्षसमेत रहेका उनले पालिकाभित्रका सबै विद्यालयमा पुस्तकालय स्थापना गर्ने उद्देश्य रहेको बताए । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तिला बुढा मगर, वडा नम्बर ५ का वडा अध्यक्ष यम कुमार बस्नेत, रुम टु रिडका प्रतिनिधि विनायक रेग्मी, शिक्षा शाखा कपुरकोटका संयोजक कृष्ण भण्डारी, विद्यालयका प्रअ पदम खड्का लगायतले पुस्तकालयको महत्वको बारे चर्चा गरेका थिए ।

प्रकाशित मिति : २०७६ भाद्र २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *