
यमकला भुसाल
तुलसीपुर, २८ भदौ ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं ६ लाई बालश्रममुक्त वडा घोषणा गरिएको छ । सुनिश्चित बालअधिकार, समृद्ध नेपालको आधार भन्ने मूल नाराका साथ राष्ट्रिय बालश्रम दिवसको अवसर पारेर शनिबार बालश्रममुक्त वडा घोषणा गरिएको हो । कार्यक्रममा बोल्ने वक्ताहरुले बालश्रममुक्त वडा घोषणा गरेर वडा नं. ६ ले सरकारलाई जवाफ दिने अनुभूति गरेको बताए ।
तुलसीपुर उपमहानगरपालिका वडा नं ६ का अध्यक्ष नवराज लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रतिनिधि सभाका सदस्य हिराचन्द्र केसीले जिल्लाकै पहिलो बालश्रममुक्त वडा घोषणा गरेर तुलसीपुर उपमहानगरपालिका वडा नं ६ ले उल्लेखनीय कार्य गरेको भन्दै खुसी व्यक्त गरे ।
उनले भने ‘एक वडा बालश्रममुक्त भएर बालश्रम अन्त्य हुँदैन, अब तुलसीपुर क्षेत्रका १९ वटै वडालाई बालश्रममुक्त बनाउनतर्फ सबै लाग्नुपर्छ ।’ उनले तुलसीपुर उपमहानगरपालिकाभित्रका सबै वडालाई बालश्रममुक्त वडा घोषणा गरेर देशकै नमुना उपमहानगरपालिका बनाउन सबैले आ–आफ्नो ठाउँबाट बालश्रम अन्त्य गर्न लागिपर्नुपर्ने बताए ।
यसैगरी तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले बालश्रम अन्त्य गर्न तुलसीपुर उपमहानगरपालिका लागिपरेको बताए । उनले भने ‘बालश्रम अमानवीय कार्य हो, यसलाई रोक्न हामी सबै एक हुनुपर्छ ।’ साथै उनले तुलसीपुर उपमहानगरपालिकालाई नेपालकै पहिलो बालमैत्री उपमहानगरका रुपमा विकास गर्ने प्रतिवद्धता समेत जनाए ।

कार्यक्रममा बोल्दै संविधान सभाका सदस्य अनारकली मियाँले बालबालिका देशका कर्णाधार हुन्, अहिलेदेखि बालबालिकालाई श्रममा होइन शिक्षा दिनुपर्छ भन्ने चेतना सबैमा हुन जरुरी छ बताइन् । साथै उनले गरिवीलाई निराकरण गर्नसके मात्र बालश्रम अन्त्य गर्न सकिनेसमेत बताए ।
उक्त अवसरमा तुलसीपुर उपमहनगरपालिकाकी उपप्रमुख माया आचार्य, नेकपाका जिल्ला अध्यक्ष टिकाराम खड्का, वरिष्ठ अधिबक्ता प्रदिप धिताल, बालअधिकारकर्मी विकिरण गौतम, नागरिक समाज दाङका सल्लाहकार टिकाराम रेग्मी, मानवअधिकार सञ्जाल दाङका अध्यक्ष केशवकुमार आचार्य, दाङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डिल्ली बहादुर डाँगी, एन प्याब्सन दाङका उपाध्यक्ष भोजराज न्यौपानेलगायतले जबसम्म राजनीतिक परिवर्तनलाई सामाजिक परिवर्तनमा रुपान्तरण गर्न सकिदैन तबसम्म बालश्रम अन्त्य नहुने बताए ।
कार्यक्रममा आमसञ्चारको माध्यमबाट कलम चलाउने विभिन्न पत्रकार, संघसंस्था, सहयोग गर्ने व्यक्तित्वहरुलाई सम्मानसमेत गरिएको थियो भने कार्यक्रम विभिन्न नृत्यहरु पनि प्रस्तुत गरिएको थियो । उक्त कार्यक्रमको सहजीकरण तुलसीपुर उपमहानगरपालिका वडा नं ६ का सदस्य दुजमान भण्डारीले गरेका थिए । साथै कार्यक्रम अघि विभिन्न ¥यालीसहित तुलसीपुर बजार परिक्रमा गरिएको थियो ।