
दाङ,भदौ ५ । प्रदेश नम्बर ५ मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोपगताको उद्घाटन खेलमा नवलपरासीले विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा आयोजक जिल्ला दाङलाई ३–० गोलअन्तरले पराजित गर्दै नवलपारासीले विजयी सुरुवात गरेको हो । विहीवारको खेलमा सुरज आले मगरले ३ गोल ह्याट्रिक गरेका छन् । जर्सी नम्बर ११ का उनले खेलको पहिलो हाफको ६ मिनेमा कर्नरबाट आएको बललाई हेडमार्फत गोल गर्दै टीमलाई अग्रता दिलाएका थिए । त्यस्तै खेलको ३०औं मिनेट दोश्रो गोल गर्दै दाङसंगको अग्रता बढाए । दोश्रो हाफको ८८औं मिनेटमा अर्को एक गोल थप्दै मगरले ह्याट्रिकसहित टीमलाई ३–० को सहज जीत दिलाए । दाङको तर्फबाट पोष्टमा गरिएको कुनैपनि प्रहार सफल हुन सकेन ।
अव लिगको दोश्रो दिन शुक्रबार २ वटा खेल हुने भएको छ । प्रतियोगिता अन्तर्गत शुक्रवारको दोश्रो खेलमा बिहान साढे सात बजे रोल्पा र बर्दियाबीच प्रतिपर्धा हुने छ । भने अपरान्ह साढे ४ बजे बाँके र रुपन्देहीबीच खेल हुने लिग संचालक समिति संयोजक भुपेन्द्र बिक्रम थापा (पुकार)ले जानकारी दिए ।
विजेतालाई २ लाख पुरस्कार
लिग प्रतियोगितामा प्रदेश ५ का विभिन्न ६ जिल्लाको खेलाडीहरुको सहभागिता रहेको छ । प्रतियोगिता आगामी १२ गतेसम्म चल्नेछ । प्रतियोगितामा प्रथम हुने टीमले २ लाखसहित कप र उपविजेताले १ लाख पुरस्कार पाउने छ ।
दाङमा मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगिता सुरु
प्रदेश नम्बर ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले खेलकुदको समग्र विकासका लागि प्रदेश सरकार लागि परेको बताएका छन् । विहीवारदेखि दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ बेलझण्डी रंगशालामा सुरु भएको प्रदेश नम्बर ५ मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री बरालले खेलकुदको पूर्वाधार र खेल क्षेत्रको विकासमा आफुले कुनै कसर बाँकी नराख्ने दाबी गरे ।
देशमा संघीयता कार्यान्वयनमा आएसँगै विगत वर्षमा विभिन्न कारणले बजेट विनियोजन लगायत कानुन निर्माणका कारणले समस्या रहेपनि चालु आर्थिक वर्षको सुरुवात संगै प्रदेश स्तरमा खेल क्षेत्रमा प्रदेश सरकारले ध्यान केन्द्रित गर्न पाएको उनले बताए । स्थानीय तह, जिल्ला खेलकुद विकास समिति तथा अखिल नेपाल फुटबल संघसंगको संयोजनमा खेलकुदका गतिविधि आयोजना गदै आएको उनले बताए । उनले त्यसको गतिलो उदाहरण प्रदेश स्तरीय लिग प्रतियोगिता रहेको तर्क गरे ।

सामाजिक विकास मन्त्री सुदर्शन बराल । तस्बिर : राजेश खत्री
खेल स्वास्थ्यका लागि मात्रै नभई राष्ट्रको गरिमा उँचो बनाउने बलियो आधार भएको हुँदा आगामी पुस्ताले खेल क्षेत्रबाट सिक्ने गरी खेलाडी उत्पादन गर्ने काममा सरकार गम्भिरताका साथ लागि परेको मन्त्री बरालले बताए ।
कार्यक्रममा अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पाले काठमान्डौं केन्द्रित रहँदै आएको लिग पहिलो पटक मोफसलमा शुरुवात गरिएको भन्दै खुसी साटे । नयाँ खेलाडी उत्पादन र प्रतिभाहरुलाई पहिचान गर्न यस प्रकारका लिग अब अन्यस्थानमा पनि गर्दै जाने एन्फाको योजना उनले सुनाए । फरक प्रसंगमा उनले गत वर्ष मात्रै निर्माण सुरु गरिएको बेलझुण्डी रंगशाला निर्माण तथा अन्य काम छोटो समयमै पुरा गरि विभिन्न प्रतियोगिता गर्न सक्नु दाङ खेलकुदमा गम्भीर छ भन्ने धारणा प्रस्तुत गरेको बताए ।
रंगशाला निर्माणले खेलाडीमा खेलप्रति आकर्षण थपेको प्रमाणित भएको उनले बताए । एन्फा वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङले नयाँ प्रतिभाहरुका लागि यस प्रकारका खेलहरु कोशेढुंगा सावित हुने धारणा राखे । नयाँ प्रतिभा बाहिर ल्याएर राष्ट्रको प्रतिनिधित्व गर्ने खेलाडी उत्पादन गर्ने काममा एन्फा लागि परेको उनले दाबी गरे ।
प्रदेश लिग संचालक समिति संयोजक भुपेन्द्र विक्रम थापा पुकारको अध्यक्षतामा उद्घाटन कार्यक्रम भएको हो ।





सबै तस्बिर राजेश खत्री