
दाङ, साउन ३० । गैरकानुनी रुपमा चेक प्वाइन्ट राखेर यातायातका सवारी साधनवाट रकम असुल्दै आइएको देखेरपनि केही नगर्ने प्रहरी अधिकारीलाई कारवाही हुने भएको छ । जिल्ला प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले गैरकानुनी चेकपोष्ट देखेरपनि केही नगर्ने र जिल्लालाई समेत कुनैपनि खवर नगरेको हुँदा दुईखोलीका ट्राफिका प्रहरी अधिकारीलाई विभागिए कारवाही गरेको जानकारी दिए ।
घोराही उपमहानगरपालिका वडा नं. १३ सेवार बगाले स्थित दुई खोली ट्राफिक प्रहरी प्रमुखलाई विभागिय कारवाहीको लागि झिकाएको बताएपनि ति प्रहरी अधिकारीको नाम भने एसपी पाण्डेले खुलाउन चाहेनन् । प्रहरी संगठनले सम्पेको जिम्मेवारी र पदिय दायित्व निर्वाह नगर्ने दुईखोली ट्राफिक प्रमुखलाई झिकाएर विभागिए कारवाही थालेको बताएका एसपी पाण्डेले ती प्रहरी अधिकारी माथि कस्तो कारवाही हुन्छ भन्नेपनि खुलाउन चाहेनन् ।
घोराही उपमहानगरपालिका वडा नं. १३ सेवार बगालेमा ‘रोल्पा रुकुम ट्रक तथा मिनि ट्रक यातायात प्राली’को बोर्ड राखेर चेक प्वाइन्ट खडा गरि विभिन्न सवारी साधन बाट गैरकानुनी रुपमा रकम असुल्दै आएका ६ जना युवालाई यही हप्ता मात्रै प्रहरीले पक्राउ गरेको थियो ।

जसमा घोराही उपमहानगरपालिका वडा नं. १४ निवासी ३४ बर्षीय रामचन्द्र वली, वडा नं. १५ निवासी २८ बर्षीय चन्द्र खड्का, सोही ठाउँका ३१ बर्षीय नरेश घर्ती, वडा नं. १३ निवासी ३३ बर्षीय नन्दबहादुर पुन, वडा नं. १४ का २२ बर्षीय पृथ्बी वली र प्यूठान जिल्लाको स्वर्गद्धारी नगरपालिका वडा नं. ३ मालारानी घर भई हाल घोराही १४ मा बस्दै आएका २६ बर्षीय खिमबहादुर पुन रहेका छन् ।
एसपी पाण्डे उक्त सडक खण्डमा जाँदै गर्दा गैरुकानुी रुपम चेक प्वाइन्ट खडा गरेको देखेपछि त्यो हटाउन लगाउनुका साथै रकम असुल्दै आएका युवाहरुलाई पक्राउ गर्न लगाएका थिए । एसपी पाण्डेले उनीहरुले ट्याक्टर, ट्रक लगाएका सवारी साधन बाट अवैध रुपमा रकम असुल्दै आएको बताए । ‘ एउटा साधन बाट २ सयदेखि २ हजार सम्म असुलेको खुल्न आएको छ,’ एसपी पाण्डेले भने ।
पक्राउ परेका ६ जना विरुद्ध मुलकी अपराध संहिता अनुरुप मुद्दा चलाएर कारवाही थालिएको प्रहरीले जानकारी दिएको छ ।