२०८३ असार १३ गते शनिवार

मदिरा खोज्न घर–घरमा प्रहरीसहितको टोली


अमरराज आचार्य,
दाङ,साउन ३० । घोराही उपमहानगरपालिका वडा नं. १८ गिठेपानी, फुर्सेखालीमा घर–घरमा पुगेर मदिरा उत्पादन तथा विक्रीवितरण भए÷नभएको बारेमा जानकारी लिन थालिएको छ । मदिरा उत्पादन, विक्रीवितरण र सेवन गर्ने कार्यलाई रोक्नका लागि यसरी घर घरमा जाँच शुरु गरिएको हो । यस अघि नै त्यस क्षेत्रमा मदिरा उत्पादन, विक्रीवितरण तथा सेवनमा रोक लगाउन भन्दै माइकिङ, गाउँभेला, घर–घरमा पुगेर सम्झाउने कार्य गरिसकिएको थियो । यति गर्दा पनि केही स्थानमा अझै घरेलु मदिरा तथा जाँड रहेको सूचना प्राप्त भएपछि प्रहरीसहित घर–घरमा पुगेर जफत गरिएको हो ।

यस्तो सूचना फेरि पनि प्राप्त भएमा यसैगरी पुनः घर–घरमा छापा मारिने जानकारी त्यस अभियानका अभियन्ता दिनेश अधिकारीले दिएका छन् । बुधवार विहानैबाट साँझसम्म घर–घरमा पुगेर जाँच गरिएको थियो । टोल विकास संस्थाहरुका पदाधिकारीहरु, स्थानीय बासिन्दाहरु तथा वडा प्रहरी कार्यालय घोराहीका प्रहरीसहितको टोलीले घर–घरमा पुगेर मदिरा उत्पादन, विक्रीवितरण भए नभएको बारेमा जानकारी लिन थालिएको छ । अनुगमनका क्रममा केही स्थानमा घरेलु मदिरा तथा मदिरा बनाउनका लागि कच्चा पदार्थको रुपमा रहेको जाँड र भाँडा समेत जफत गरिएको सुरक्षा स्वयंसेवक समितिका सचिव दिनेश वलीले जानकारी दिए । जफत गरिएको सामग्री वडा प्रहरी कार्यालयमा ल्याइएको उनको भनाइ रहेको छ ।

वडा प्रहरी कार्यालय घोराहीले मदिरा भन्दा पनि मदिरा बनाउनका लागि प्रयोग गरिने जाँड वढी रहेको जनाएको छ । गिठेपानी, फुर्सेखालीमा रहेका १० वटा टोल विकास संस्थाले संयुक्तरुपमा साउन २ गते निर्णय गरेर अभियान थालेका हुन् ।

उक्त क्षेत्रमा रहेका खरकट्टी टोल विकास संस्था, दिदीबहिनी टोलविकास संस्था, गाउँवेशी टोल विकास संस्था, प्राचिन भयरथान टोल विकास संस्था, सुनडबरी टोल विकास संस्था, मिलीजुली टोलविकास संस्था, जलुके टोल विकास संस्था, गिठेपानी टोल विकास संस्था, लेकवेशी टोल विकास संस्था, गैरावारी सिचाइ डयाम टोल विकास संस्थाले यस्तो निर्णय गरेका हुन् । यस अभियानलाई घोराही उपमहानगरपालिका वडा नं. १८ को कार्यालय तथा वडा प्रहरी कार्यालय घोराहीले पनि सहयोग गर्दै आएको छ । उक्त क्षेत्रमा मदिरासँगै लागू औषध सेवन तथा ओसार–प्रसार, तास खेल्न तथा क्यारामबोर्ड खेल्न समेत रोक लगाइएको छ । नियम उल्लंघन गर्नेलाई कारवाही गरिने सुरक्षा स्वयंसेवक समितिका सदस्य दिनेश वलीले बताए । नियम उल्लंघन गर्नेलाई पहिलोपटकलाई ५ हजार र क्रमशः दोब्वर जरिवाना गरिने वलीको भनाइ रहेको छ ।

पहिलो चरणमा गाउँमा माइकिङ गरिएको र प्रत्येक टोल विकास संस्थाहरुमा सचेतना मुलक बोर्ड समेत राखिएको छ । यस प्रकारको अभियानमा गाउँलेहरुलmे समेत सहयोग गर्दै आएका छन् । मदिराले समाजमा नकारात्मक प्रभाव पर्ने भएकाले यस प्रकारको अभियान थालेको स्थानीय बासिन्दाहरुको भनाइ रहेको छ । ‘मदिरा तथा लागू औषध सेवन गरी पछिल्लो युवा पुस्ताहरुसमेत बिग्रिन थालेको भन्दै युवाहरुलाई बचाउन यस प्रकारको अभियान थालेका हौं’, वलीले भने । यस प्रकारको अभियानमा स्थानीय बासिन्दाहरुले समेत सहयोग गर्ने गरेको उनको भनाइ छ । अहिले गाउँमा गाउँलेहरुले रात्रीकालीन गस्ती समेत गर्ने गरेका छन् ।

प्रकाशित मिति : २०७६ साउन ३० गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *