
दाङ, साउन २८ । गैरकानुनी रुपमा चेक प्वाइन्छ राखेर यातायातका सवारी साधनवाट रकम असुल्ने युवाहरु पक्राउ परेका छन् । दाङको घोराही–रोल्पाको होलेरी सडक खण्डमा चेक प्वाइन्ट खडा गरि सवारी साधनवाट रकम असुल्दै आएका ६ जना युवाहरुलाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं. १४ निवासी ३४ बर्षीय रामचन्द्र वली, वडा नं. १५ निवासी २८ बर्षीय चन्द्र खड्का, सोही ठाउँका ३१ बर्षीय नरेश घर्ती, वडा नं. १३ निवासी ३३ बर्षीय नन्दबहादुर पुन, वडा नं. १४ का २२ बर्षीय पृथ्बी वली र प्यूठान जिल्लाको स्वर्गद्धारी नगरपालिका वडा नं. ३ मालारानी घर भई हाल घोराही १४ मा बस्दै आएका २६ बर्षीय खिमबहादुर पुन रहेका छन् ।
जिल्ला प्रहरी प्रबक्ता विनोद विक्रम शाहका अनुसार उनीहरुले घोराही होलेरी सडक खण्ड अन्तरगत घोराही उपमहानगरपालिका वडा नं. १३ सेवार बगाले भन्ने स्थानमा रोल्पा रुकुम ट्रक तथा मिनि ट्रक यातायात प्रालीको बोर्ड राखेर चेक प्वाइन्ट खडा गरि विभिन्न सवारी साधन बाट गैरकानुनी रुपमा रकम असुल्दै आएका थिए । पक्राउ परेका ६ जना विरुद्ध मुलकी अपराध संहिता अनुरुप मुद्दा चलाएर कारवाही गरिने प्रहरी नायव उपरिक्षक समेत रहेका शाहले बताए । प्रहरीले पीडित अन्य सवारी धनिलाई समेत सूचना दिन आग्रह गरेको छ ।