
फाइल तस्बिर
लिलाधर वली,
दाङ, साउन, २० । कुनै बेलाको खुल्ला घासे मैदान अहिले खेलकुद मैदानका रुपमा परिणत भएको छ । स्तरोन्नती हुंदै गरेको खेलमैदानले खेलाडीलाई अभ्यास गर्न सहज भएको छ । हेर्दा पनि चिटिक्क परेको देखिने त्यो बेलझुडी रंगशालाले खेलाडीहरुमा उत्साह थपेको छ ।
स्तरिय खेलकुद मैदान नहुदा घासे मैदानमा फुटबल खेलेका खेलाडीलाई सुविधा सम्पन्न रंगशाखा निर्माण भएपछि अभ्यास गर्न समेत सहज भएको खेलाडीहरुले बताउने गरेका छन ।
आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका क्रममा निर्माण सुरु भएको बेलझुण्डी रंगशालाले खेलाडीमा उत्साहमा थप्ने काम गरेको फुटबल खेलका रेफ्रि खुमबहादुर वलीले बताए । ‘जिल्लामा स्तरिय फुटवल मैदान नहुदा खेलाडीहरुलाई खेल्न समस्या हुने गरेको थियो,जसले गर्दा राम्रो परिणाम समेत आउन सकेको थिएन’, वलीले भने,‘ बेलझुण्डीमा अन्तराष्ट्रिय स्तरको खेलकुद मैदान निर्माण भएपछि सहज हुने भएको छ ।’आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताले छोडेको संरचनाले खेलाडीको क्षमता विकाससँगै जिल्लाकै खेल क्षेत्रको विकासमा महत्वपुर्ण योगदान पु¥याउने वली बताउँछन ।
राष्ट्रिय खेलकुदको आठौँ सस्करणसम्म आईपुग्दा पदक बहिन बनेको दाङलाई आगामी प्रतियोगितामा पद जित्न रंगशालाले महत्वपुर्ण भुमिका खेल्ने अर्का खेलाडी राकेश सुनारले आशा व्यक्त गरे । बेलझुण्डीमा निर्माण भएको खेल मैदानले जिल्लाका खेलाडीमा नयाँ जोस सिर्जना गरेको बताए । ‘हिजो गाई भैसी चर्ने डाडो खेलकुद मैदानका रुपमा विकास भएपछि खेलाडीहरु नियमित अभ्यास गर्न थालेका छन’, आईटिएफ तेक्वान्दोका रेफ्री समेत रहेका सुनारले भने,‘खेलकुदको संरचना निर्माण भएपछि खेलाडी समेत सक्रिय भएका छन ।’ उनका अनुसार मैदानमा फुटबलसँगै तेक्वान्दो, एथलेटिकलगायतका खेलाडीहरुले अभ्यास गर्दै आएका छन् ।
‘खेलकुदका कुनै संरचना नहुदा खेलाडीहरुलाई खेल्न समस्या हुने गरेको थियो’,खेलाडी सुनारले भने,‘तर मैदान भएपछि खेलाडीहरुले नियमित अभ्यास गर्न पाउँदा हौसल्ला बढेको छ ।’
जिल्लामा खेलकुद पूर्वाधार निर्माणसँगै खेलाडीहरुमा पनि खुसी छाएको छ । बेलझुण्डीमा एथलेटिक्सका लागि सेन्थेटिक ट्र¥याकसँगै, फुटवल मैदान, प्याराफिट निर्माण भएको छ । यो सँगै अन्तराष्ट्रिय स्तरको सुमिङ्ग पुल, भिआई प्याराफिट निर्माण, खेलाडीलाई अभ्यास गराउन फुटवल मैदान, तारबार लगायतका काम भैरहेको दाङ जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष कैलाश रोकामगरले बताए ।
करिव २४ करोड २४ लाख रुपैया बजेटबाट खेलकुदका संरचनाहरु निर्माणको काम भैरहेको जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष रोकाले बताए । ‘खेलाडीहरुलाई अभ्यास गर्ने व्यवस्थीत खेलमैदान नहुदा खेलाडीहरु नियमित खेल्ने गरेपनि नतिजा राम्रो आउन सकेको थिएन’, कोषाध्यक्ष रोकाले भने,‘ व्यवस्थित स्तरिय खेल मैदान निर्माणले खेलाडीलाई अभ्यास गर्ने सहजतासँगै राम्रो प्रदर्शन गर्न मद्धत पु¥याउने छ ।’ अहिले निर्माण भैरहेका खेलकुदका संरचनाले खेलाडीसँगै जिल्लाको खेलकुदको विकासमा महत्वपुर्ण योगदान पु¥याउने रोका बताउँछन ।
रंगशाला निर्माणको काम दिवा एमए प्रतिष्ठा कन्स्ट्रक्सन जेभीले गरिरेको छ । गतबर्षको असारदेखि सुरु भएर माघ महिनामा सम्पन्न गर्नुपर्ने काम अझै सकिएको छैन । आठ महिनामा निर्माण गरिसक्नुपर्ने भएपनि निर्माण पक्षको लापरवार्हीका कारण दुई पटक म्यादथप भैसकेको छ । हाल खेलकुद मैदान निर्माण, प्याराफिट निर्माणसँगै दुबो रोपिएको छ ।
मैदानको अधिकांस भागमा बर्मुडा दुबो रोप्ने, रंगशाला निर्माण अन्तर्गत मैदानको पूर्वतिर प्याराफिट निर्माण गरिएकोे, एथलेटिक्सका लागि सिन्थेटिक ट्राक निर्माण, मैदान संरक्षणका लागि तारलगाउने लगायतका ८० प्रतिशत काम सकिएको निर्माण कम्पनीका प्रतिनिधि प्रकाश पोखरेलले जानकारी दिए ।
अहिले मैदानको पश्चिमतिर भिआइपी प्याराफिटसँगै व्लकलगायतका बाँकी रहेका कामहरु गर्ने काम भैरहेको समेत पोखरेलले जानकारी दिए । आगामी मंसिर मसान्तभित्र काम सक्ने गरि काम भईरहेको समेत उनले जानकारी दिए ।