
लिलाधर ओली,
दाङ, साउन १७ । आई.टि.एफ. तेक्वान्दोको राष्ट्रियस्तरको च्याम्पियनशिप प्रतियोगिता दाङमा हुने भएको छ । दाङ आई.टि.एफ.तेक्वान्दो संघको आयोजना तथा भरतपुर आई.टि.एफ. तेक्वान्दो डोजाङको सहकार्यमा ‘राष्ट्रिय सिनियर तथा जुनियर आई.टि.एफ.तेक्वान्दो च्याम्पियनशिप प्रतियोगिता–२०७६’ घोराहीमा हुन थालेको हो ।
आयोजक दाङ आई.टि.एफ.तेक्वान्दो संघले शुक्रवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिताको बारेमा जानकारी दिएको हो । राष्ट्रिय सिनियर तथा जुनियर आई.टि.एफ.तेक्वान्दो च्याम्पियनशिप प्रतियोगितामा आयोजक टिमसहित सात प्रदेशका टिम, नेपाल आर्मी र सशस्त्र प्रहरीको विभागीय टिम गरि दश टोलीको सहभागिता हुने दाङ आई.टि.एफ. तेक्वान्दो संघका अध्यक्ष प्रेम बुढाले जानकारी दिए । यहि आउने असोजको ३ गतेदेखि ६ गतेसम्म घोराहीमा हुने प्रतियोगितामा देशभरका ३ सय ५० जना खेलाडीहरुको सहभागिता हुने भएको छ ।
दाङमा पहिलो पटक हुन थालेको राष्ट्रिय स्तरको आई.टि.एफ.तेक्वान्दो प्रतियोगिताले राम्रो सन्देश दिने संघका जिल्ला उपाध्यक्ष तथा प्रशिक्षक भीमबहादुर थापाले जानकारी दिए । प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले गर्ने भएका छन । ‘जिल्लावाट राष्ट्रियस्तरका गेमहरु खेल्ने खेलाडीहरु भएपनि जिल्लामा पूर्वाधारको अभावमा गेमहरु हुन सकेका थिएनन्’,उपाध्यक्ष थापाले भने,‘ अहिले खेलाडीसँगै पूर्वाधार पनि तयार भएकाले प्रतियोगिताको आयोजना गर्न थालेका छौँ ।’ प्रतियोगिताले आई.टि.एफ. तेक्वान्दो खेलको विकासँगै खेलडीहरुमा हौसल्ला प्रदान गर्ने थापाले बताए ।
आयोजकले पत्रकार सम्मेलनमाफर्त प्रतियोगितालाई सफल बनाउन सहयोग गर्न समेत स्थानीयतलगायतलाई आग्रह गरेका छन । दाङ आई.टि.एफ.तेक्वान्दो संघ अध्यक्ष प्रेम बुढाको अध्यक्षतामा तथा सचिव मधुसुदन पन्तको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमको सहजीकरण सल्लाहकार केशव गिरीले गरेका थिए ।