
तुफानबाबु श्रेष्ठ ,तुलसीपुर, भदौ २५ । आमाबुबा फर्केर आउलान् कि भन्ने आशामा दुई अबोध आँखा अझै बाटो हेरिरहेका छन्।
उनीहरूलाई थाहा छैन—आफ्ना आमाबुबा कहाँ छन्, कहिले फर्किन्छन् वा फर्किन्छन् कि फर्किँदैनन्। तर बालमनले भने अझै आमाबुबाको आगमनको आशा छाडेको छैन।
रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीमा परी उमेश श्रेष्ठ र उहाँकी श्रीमती समिता श्रेष्ठ बेपत्ता भएपछि तुलसीपुर–१९ दोघरेका ७ वर्षीया प्रशंसा श्रेष्ठ र ६ वर्षीय युवान श्रेष्ठ अभिभावकविहीन बनेका छन्। अहिले उनीहरू बिजौरीमा आफ्नी सानी आमासँग बस्दै आएका छन्।
रोजगारीको सिलसिलामा नुवाकोट पुगेका उमेश र समिता भदौ १० गते आएको बाढीमा परेर बेपत्ता भएका हुन्। उनीहरूको घर धादिङमा रहेको छ भने ससुराली रोल्पाको होलेरीमा रहेको परिवारले जनाएको छ।
हाइड्रोपावरमा काम गर्ने एक जना ठेकेदारले उनीहरूलाई बाढीको भेलमा बग्दै गरेको देखेको जानकारी परिवारले पाए पनि अहिलेसम्म दुवै जनाको शव फेला परेको छैन।
भदौ ९ गते मात्रै बुबा–आमासँग फोनमा कुराकानी गरेका यी दुई बालबालिकाले त्यसको भोलिपल्टै आफ्ना आमाबुबा बाढीमा बेपत्ता भएको खबर सुन्नुपर्यो। जुन उमेरमा उनीहरूले आमाबुबाको काख, माया र संरक्षण पाउनुपर्ने हो, त्यही उमेरमा उनीहरू अनिश्चितता र पीडाबीच दिन बिताउन बाध्य छन्।
आमाबुबा फर्केर आउने आशामा बाटो हेर्दै गरेका यी बालबालिकाको मनमा अहिले कस्तो पीडा होला भन्ने कल्पना गर्नसमेत कठिन छ।
उमेश र समिता दुवैको शव अहिलेसम्म फेला नपरेकाले परिवारले उनीहरूको काजक्रियासमेत गर्न सक्ने अवस्था छैन।
एकातिर बेपत्ता अभिभावकको खोजी र अर्कोतर्फ दुई साना बालबालिकाको भविष्यको चिन्ता—परिवारका लागि यो अवस्था अत्यन्तै पीडादायी बनेको छ।
बालबालिकाको यही कठिन अवस्थालाई मध्यनजर गर्दै नेवा: देय दबु तुलसीपुरले निरन्तर मासिक राहत सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। समाजले आयोजना गरेको कार्यक्रममा बालबालिकालाई खाद्यान्न तथा आवश्यक राहत सामग्री हस्तान्तरण गरेको छ।
नेपाल सरकारले उनीहरूको उचित व्यवस्थापन नगरेसम्म हरेक महिना खाद्यान्न, लत्ताकपडा तथा विद्यालयका आवश्यक सामग्री उपलब्ध गराउने समाजले जनाएको छ।
समाजका अध्यक्ष शिव श्रेष्ठको अध्यक्षता तथा तुलसीपुर–१९ का वडाध्यक्ष प्रेमनाथ योगीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडाध्यक्ष योगीकै रोहवरमा बालबालिकालाई राहत सामग्री हस्तान्तरण गरिएको थियो। कार्यक्रममा समाजका पदाधिकारी तथा स्थानीयवासीको सहभागिता रहेको थियो।
सहभागीहरूले विपद्का कारण अभिभावकविहीन बनेका बालबालिकाको संरक्षण, शिक्षा र भविष्य सुनिश्चित गर्न राज्य तथा समाज दुवैले विशेष ध्यान दिनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रमको सहजीकरण समाजका निवर्तमान अध्यक्ष पुष्कर श्रेष्ठले गर्नुभएको नेवा: देय दबुको यो पहलले तत्कालका लागि बालबालिकाको दैनिक आवश्यकतामा केही राहत र अपनत्वको अनुभूति दिलाउने भए पनि उनीहरूको दीर्घकालीन पालनपोषण, शिक्षा, स्वास्थ्य र भविष्यका लागि अझै निरन्तर सहयोग आवश्यक देखिन्छ।
त्यसैले सामाजिक संघसंस्था, उद्योगी–व्यवसायी, समाजसेवी, शुभेच्छुक तथा देश–विदेशमा रहनुभएका सहयोगी मनहरूमा यी दुई अबोध बालबालिकाको भविष्यका लागि सक्दो सहयोग गरिदिन हार्दिक अपिल गरिएको छ। लत्ताकपडा, खाद्यान्न, विद्यालयका सामग्री, नगद वा आफूले सक्ने जुनसुकै सहयोग गर्न सकिनेछ।
सानो सहयोग कसैका लागि सामान्य हुन सक्छ, तर आमाबुबाको माया र संरक्षणबाट वञ्चित यी दुई अबोध बालबालिकाका लागि त्यही सहयोग जीवनको ठूलो सहारा बन्न सक्छ।
साथै, बाढीमा बेपत्ता उमेश श्रेष्ठ र समिता श्रेष्ठको खोजी तथा उद्धारका लागि सम्बन्धित निकायले थप प्रभावकारी पहल गरिदिन परिवार तथा स्थानीयवासीले आग्रह गरेका छन्।
“बाढीले खोसेको परिवारको खुसी फर्काउन नसके पनि यी दुई बालबालिकाको भविष्यमा आशाको दियो बाल्न हामी सबैले सक्छौँ। विपद्को यो पीडामा उनीहरूको साथ बनौँ र सक्दो सहयोग गरौँ,” नेवा: देय दबु तुलसीपुरका अध्यक्ष शिव श्रेष्ठले आह्वान गरे ।
सहयोग गर्न इच्छुक व्यक्ति तथा संघसंस्थाले अध्यक्ष शिव श्रेष्ठको मोबाइल नम्बर ९८५७८२०५५८ वा निवर्तमान अध्यक्ष पुष्कर श्रेष्ठको मोबाइल नम्बर ९८४७८२०५७६ मा सम्पर्क गरी सहयोग गर्न सकिने जनाइएको छ।

