
यमकला भुसाल
तुलसीपुर, साउन १६ ।
दाङको तुलसीपुर क्षेत्रबाट राहदानी लिनेको संख्या बर्षेनी घट्दै गएको पाइएको छ । ईलाका प्रशासन कार्यालय तुलसीपुरको तथ्याङ्कले त्यो देखाउँछ । विगत ३ वर्षदेखिको तथ्याङ्क नियाल्दा राहदानी लिनेको संख्या बर्षेनी घट्दै गएको पाइएको हो । प्रशासनका सूचना अधिकारी यादव भुसालका अनुसार यस वर्ष ४ हजार बढीले राहदानी लिएका छन् । जो गत वर्ष भन्दा झन्डै एक हजारले कम हो ।
वितेको आर्थिक वर्ष २०७५÷०७६ को साउन महिनादेखि असार मसान्तसम्ममा १ वर्षको अवधिमा ४ हजार ८ सय ३५ जनाले राहदानी लिएका छन् । सूचना अधिकारी भुसालका अनुसार यस वर्ष कार्यालयबाट ३ हजार ३ सय ८८ जनाले राहदानी लिएकोमा ७ सय ७१ जना महिला छन् भने २ हजार ६ सय १७ जना पुरुष छन । काठमाडौँ पुगेर द्रूत सेवामार्फत पनि सेवा लिएका छन् ।
१ हजार ४ सय १४ जनाले त्यसरी राहदानी लिएको देखिएको छ । ति मध्ये ४ सय ४४ जना महिला र १ हजार ३ जना पुरुष रहेको तथ्याङ्कले देखाएको छ । कार्यालयको तथ्याङ्क अनुसार गत वर्ष २०७४÷०७५ मा ५ हजार ७७ जनाले राहदानी लिएका थिए । यो आर्थिक वर्षमा त्यो घटेर ४ हजार ८ सय ३५ जनाले राहदानी लिएको सूचना अधिकारी भुसालले बताए ।
त्यस्तै आर्थिक वर्ष २०७३÷०७४ मा ४ हजार ९ सय ५४ जनाले राहदानी लिएको तथ्याङ्क कार्यालयसँग छ । पछिल्लो समय अधिकांस युवाहरु स्थानीयस्तरमै रोजगारको सम्भावना खोज्न थालेपछि बिदेशमा कामदारको रुपमा जानेहरुको संख्या घटेको सूचना अधिकारी भुसालले तर्क गरे । स्थानीय तहमै प्राविधिक शिक्षाको पढाई हुनु र रोजगारीका अवसरहरु पनि सिर्जना हुन थालेपछि अध्ययनको नाममा विदेशीने युवायुवतीको संख्या घटेको हुनुपर्ने उनले अनुमान गरे ।
करिब २ करोड राजस्व संकलन
ईलाका प्रशासन कार्यालय तुलसीपुरले वितेको आर्थिक वर्ष २०७५÷०७६ मा १ करोड ८४ लाख ६० हजार ८ सय राजस्व संकलन भएको छ । कार्यालयका सूचना अधिकारी भुसालका अनुसार आर्थिक वर्ष २०७५÷०७६ को साउन महिनादेखि असार मसान्तसम्ममा १ वर्षको अवधिमा उक्त रकम सकंलन भएको हो ।
राहदानीबाट १ करोड ८४ लाख ५२ हजार ५ सय रुपैयाँ संकलन भएको छ । मादकपदार्थ सेवनबाट १ हजार, हातहतियार नवीकरणबाट ७ हजार ३ सय गरी १ करोड ८४ लाख ६० हजार ८ सय रुपैयाँ राजस्व संकलन भएको हो । यो आँकडा गत वर्षको तुलनामा बढी हो । गत वर्ष कार्यालयमा १ करोड ७८ लाख १० हजार ४ सय २१ रुपैयाँ राजस्व संकलन भएको थियो ।
गत वर्ष भन्दा यो वर्ष १ करोड ८४ लाख ६० हजार ८ सय बढी राजस्व संकलन भएको छ । सूचना अधिकारी भुसालले हराएका पास्पोर्ट बनाउन आउनेको संख्यामा बृद्धि हुँदा यो वर्ष राजस्व बढेको जानकारी दिए ।