
नेपालगञ्ज, असोज ७ । नेपालगञ्जमा एक लाखबढी पुरस्कार राषिको फूटबल प्रतियोगिता हुने भएको छ ।रोयल नेपालगञ्ज फुटबल क्लवले असोज १५ गतेदेखि नेपालगञ्ज रंगशालामा प्रथम बागेश्वरी नकआउट फूटबल प्रतियोगिता गर्न थालेको हो ।
जिल्लाका खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले क्लवले प्रतियोगिता गर्न थालेको रोयलका अध्यक्ष एवं एन्फा लुम्बिनीका उपाध्यक्ष सूर्यमणि अधिकारीले जानकारी दिए ।
प्रतियोगिताका लागि असोज ११ गतेसम्म टीम दर्ता गर्न पाउने समय राखिएको छ । बाँके जिल्ला फूटबल संघ, राष्ट्रिय खेलकुद परिषद्, जिल्ला प्रशासन कार्यालय र स्थानीय सरकारमध्ये कुनै एकमा दर्ता भएका क्लवले प्रतियोगितामा भाग लिन पाउने ब्यबस्था गरिएको छ ।
प्रतियोगितामा भाग लिने खेलाडी बाँके जिल्लावासी हुनु पर्नेछ । विभागीय क्लवको हकमा बाँके जिल्लामा कार्यरत हुनुपर्नेछ ।
प्रतियोगिताको विजेताले एक लाख ११ हजार एक सय ११ रुपंैया, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । द्वितिय हुनेलाई ५१ हजार एक सय ११ रुपैंया, मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ ।
बाँकेमा फूटबल संघमा एघार वटा क्लव आवद्ध छन् । त्यसबाहेक राखेप, जिल्ला प्रशासन कार्यालय वा स्थानीय सरकारमा दर्ता भएका गरी डेढ दर्जनबढी क्लवले प्रतियोगितामा भाग लिने क्लवका महासचिव दीर्घराज आचार्यले बताए ।
यसैबीच मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिले नेपालगञ्ज रंगशालामा प्रतियोगिता गराउन र खेलाडीलाई अभ्यास गर्न दिन थालिसकेको छ । निश्चित मापदण्ड पुगेका खेलाडीलाई रंगशालामा नियमित अभ्यास गर्न दिने तयारी थालिएको हो ।
बाँके जिल्लाका खेलाडीलाई फोकस गरेर आयोजना गरिएको प्रतियोगिताबाट जिल्लाको टीम बनाउन सघाउ पुग्ने आशा गरिएको छ ।!!