मंसिर २८ । मनाङ मर्स्याङ्दी क्लबले शहीद स्मारक ए डिभिजन लिग फुटबलमा लगातार आठौं जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा शुक्रबार सम्पन्न खेलमा विभागीय टिम आर्मीलाई १–० गोलले पराजित गर्दै मनाङले उपाधि यात्रा सहज बनाएको हो । बलियो प्रतिद्वन्द्वीको रुपमा हेरिएको आर्मीलाई पराजित गरेसँगै शीर्ष स्थानमा रहेको मनाङको अंक दूरी पनि बढेको छ ।
मनाङको जितमा विशाल राई नायक सावित भए । उनकै उत्कृष्ट गोलमा मनाङले कठिन जित निकालेको हो । खेलको ३१ औं मिनेटमा नै विशाल राईले गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए । निकै आक्रामक खेलेको आर्मीलाई पहिलो हाफसम्म मनाङले १–० गोलले पछि पारेको थियो ।
जितसँगै मनाङले लगातार आठौं खेलमा पनि जित हात पार्दै २४ अंक बनाएको छ । यता, पराजित आर्मीको यो पहिलो हार हो । आर्मीले आठ खेलबाट पाँच खेलमा जित, दुई खेलमा बराबरी र एक खेलमा हार ब्यहोर्दै १७ अंक बनाएको छ ।
लिगको दोस्रो स्थानमा भने संकटा क्लब रहेको छ । संकटाको आठ खेलबाट २१ अंक रहेको छ । त्यस्तै, लिगको तेस्रो स्थानमा रहेको थ्रीस्टारको १८ अंक रहेको छ ।