मनोज पौडेल,
हरेक महिना महिलाहरुको यौनाङ्गबाट प्राकृतिक रुपमा हुने रक्तस्रावलाई महिनावारी भनिन्छ। यस समयमा रगत पाठेघरबाट बाहिर निस्कन्छ। महिनावारी हरेक महिलाहरुमा हुने एक जैविक प्रकृया हो। प्रत्येक स्वस्थ्य महिलामा यो प्रकृया किशोरावस्थामा शुरु भई बुढ्यौली अवस्थामा प्राकृतिक रुपमै बन्द हुन्छ।
सामान्यतया, महिनावारी १० देखि १४ बर्षको बिचमा शुरुभई ४५ देखि ५० बर्षको बिचमा बन्द हुन्छ। हाम्रो समाजमा महिनावारी हुनुलाई नछुने हुने, पर सर्ने, बाहिर सर्ने, आदी भनिन्छ। महिनावारी महिलाहरुको प्रजनन उमेरको शुरुवातको संकेत हो। साधारणतया, १४(४९ बर्षसम्मको उमेरलाई महिला प्रजनन उमेर भनिन्छ। प्रजनन उमेर त्यो उमेर समुह हो जुन उमेरमा महिलाहरु बच्चा जन्माउनको लागि जैविक रुपमा सक्षम मानिन्छन।
सामान्य अवस्थामा महिलाहरु महिनावारी भएको दिन देखि हरेक २६-३० दिनमा महिनावारी हुन्छन। औसतमा हरेक २८ दिनमा महिनावारी हुन्छ। जन्मदै देखि महिलाहरुमा करिब ४,५०,००० (चार लाख पचास हजार) अण्डहरु (यखगm) सुसुप्त अवस्थामा रहेका हुन्छन। उमेर संगसंगै हुने बिभिन्न किसिमका हर्मोनहरुको उत्पादन तथा शारिरिक बिकासको प्रकृया संगै महिलाहरु किशोरावस्था हुँदै परिपक्व हुन पुग्दछन। महिनावारीले अण्डको परिपक्वता संकेत गर्छ तर महिलाको परिपक्वता संकेत गर्दैन। अघिल्लो र आउँदो महिनावारिको बिचमा अण्डाशयबाट अण्ड बाहिर निस्कन्छ र यो प्रकृया मासिकरुपले निरन्तर चलिरहन्छ। महिनावारी हरेक महिनामा हुन्छ तर गर्भ रह्यो भने रोकिन्छ। केही महिनासम्म सुत्केरी तथा स्तनपान गराइरहेका महिलाहरुमा महिनावारी हुँदैन।
अणडाशयबाट अण्ड बाहिर आएको दिनदेखि शरिरले एक किसिमको हर्मोन अत्यधिक रुपमा उत्पादन गर्न थाल्दछ त्यही हर्मोनको कारणले पाठेघरको भित्ता पातलो झिल्लीले ढाक्दछ। यदी गर्भ रह्यो भने भ्रुण त्यही झिल्लीमा टाँसिन्छ र यसरी भ्रुणको बृद्दी बिकासको प्रकृया शुरु हुन्छ। यस अवस्थालाई गर्भवति हुनुको पूर्वावस्था भन्न सकिन्छ। यस अबधिमा गर्भ रहेन भने पाठेघरको भित्तामा निर्मित झिल्लीमा रहेक मसिना रक्तनलीहरु बन्द हुन पुग्दछन र ती रक्तनलीहरुमा भएको रगतको प्रवाहको कारणले गर्दा सो झिल्ली फुट्न गई यौनाङ्गबाट रगत बाहिर निस्कन्छ।
महिनावारीको अबधिमा झिल्लीका मसिना टुक्राहरु र पाठेघरमा रहेका हर्मोनका अंशहरु, अण्ड आदि बाहिर निस्कन्छ। महिनावारीको समयमा सामान्यतया ४ देखि ६ दिन सम्म रक्तस्राव हुने गर्दछ। महिनावारीको हरेक स्रावमा करिब ३० मि.लि. रगत अनावश्यक रुपमा खेर जाने गर्दछ। महिनावारीको समयमा कहिले न्युन तथा कहिले अत्यधिक रक्त बहाव हुने गर्दछ, कहिलेकाँही बहाव २-३ दिनमा रोकिन्छ भने कहिलेकाँही ५-६ दिनसम्म हुने गर्दछ जसलाई निन्न कुराहरुले प्रभाव पार्दछ।
-श्वास्थ्य अवस्था (बिरामी, श्वस्थ्य, खुशी वा खिन्न)
-पोषणको अबस्था (पोषणयुक्त खानेकुराको प्रयाप्तता वा कमी)
-दैनिक जीवन (सामान्य कार्य, खेतीपाती, कार्यालयका दैनिक कार्य, कडा परिश्रम)
-आराम वा थकान
– उमेर (किशोरावस्था, वयस्क, प्रौढ)
-उत्पादित हर्मोनको परिमाण (कम वा धेरै हर्मोन उत्पादन)
महिनावारी हुनुपूर्व तथा भए पश्चात महिलाहरुमा निम्न समस्याहरु देखा पर्दछन।
-टाउको दुख्नु, असहज महशुस हुनु, शरिर तात्तिनु
-ढाड दुख्नु, थकान महशुस हुनु
-पेट फुलेको जस्तो अनुभव गर्नु, पेट दुख्नु
-छाती तथा स्तन दुख्नु
-चक्कर लाग्नु, कब्जियत वा पखाला लाग्नु
-बैराग लाग्नु, एक्लै बस्न मन लाग्नु, आदि।
महिनावारीको समयमा महिलाहरुले लज्जा तथा असहज महशुस गरेका हुन्छन। अन्धबिश्वास, सामाजिक कुरीति, कुसंस्कार तथा कुअभ्यास, महिनावारी श्वास्थ्य सम्बन्धी ज्ञानको कमी आदि कुराले हाम्रो जस्तो पुरुष प्रधान समाजमा महिलाको श्वास्थ्य, मान प्रतिष्ठा को बिरलै हेक्का राख्ने गरिन्छ।
महिनावारी भएको ७-८ दिन पछाडी महिलाहरुले केही आनन्द तथा सहज महशुस गर्दछन। जस्तैः
-महिनावारीको समस्याबाट मुक्ति तथा खुशीको अनुभव
-आराम भएको महशुस
-फुर्तिलो भएको महशुस
– रचनात्मक हुनु
-यौन सम्पर्क गर्न मन लाग्नु आदि।
समाजमा व्याप्त कुरीति तथा कुसंस्कारको कारणले गर्दा महिलाहरुले महिनावारीको समयमा निम्न समस्याहरु झेल्नु परेको छ।
-पुराना तथा फोहर कपडाहरुको प्रयोग
-कपडाहरु सफा गर्ने उचित स्थानको कमी
-पानीका स्रोत (धारा, कुवा आदि) बाट टाढै राख्नु वा छुन नदिनु
-नुहाउन तथा कपडा धुन पानीको अप्रयाप्तता
-अलग्गै बस्न तथा सुत्न लगाउनु, बिस्तरा फोहर तथा असुरक्षित हुनु.
-गोठ तथा कटेरोमा बस्न सामाजिक रुपमा बाध्य पारिनु (बिशेष गरी मध्य तथा सुदुरपश्चिमका जिल्लाहरुमा)
महिनावारीको समयमा महिलाहरुले ब्यक्तिगत सरसफाइमा बिशेष ध्यान दिनु पर्ने हुन्छ तर उचित पारिवारिक तथा सामाजिक वातावरणको अभावमा उनीहरु ब्यक्तिगत सरसफाइको आधारभूत आवश्यकताबाट बन्चित छन्। स्वच्छता तथा सरसफाइ सम्बन्धी अभ्यासको कमीले यौनाङ्गमा इन्फेक्सन हुने गर्दछ साथै महिनावारी सम्बन्धी बिबिध पक्षका बारेमा धेरैजसो महिलाहरु कुरा गर्न चाहदैनन। महिलाहरुको यस्तो आनीबानीको प्रमुख कारण सामाजिक परम्परा तथा अभ्यासहरु नै हुन्।
महिनावारी भएको अबस्थामा सेनिटरी प्याड प्रयोग गर्नु पर्दछ। यदि सेनिटरी प्याड छैन वा उपलब्ध हुन सक्दैन भने सफा तथा नरम सुतीको कपडा वा नेप्किन प्रयोग गर्न सकिन्छ। प्रयोग गरेको प्याड वा कपडालाई समय(समयममा वा भिजेको अबस्थामा अर्को परिवर्तन गर्नुपर्ने हुन्छ। प्रयोग गरिसकेका प्याड वा कपडा फोहर फाल्ने भाँडो (डस्टबिन) मा जम्मा गरी उचित ब्यबस्थापन गर्नु पर्दछ। प्रयोग गरिएको कपडालाई साबुन(पानीले राम्रोसंग धोएर घाममा सुकाई पुनः प्रयोग पनि गर्न सकिन्छ। महिनावारीको समयमा सम्पूर्ण यौनाङ्ग समय-समयमा साबुनपानीले राम्रो संग सफा गर्नुपर्ने हुन्छ।
बिद्यालयमा बालबालिकाले आधारभूत ज्ञान हासिल गर्दछन। बिद्यालय शिक्षा प्राप्तीको अवधीभर एक बालिकाले करिब ५०० महिनावारी भएका दिनहरु बिताउँछन्। यसर्थ, बिद्यालयमा उपलब्ध हुने सरसफाईका सुबिधा लैङ्गिक मैत्री हुनु जरुरी रहन्छ। सकेसम्म विद्यालयमा बालिकाहरुको लागी छुट्टै चर्पीको ब्यबस्था गर्नु पर्दछ। बिद्यालयमा निर्माण गरिएका चर्पीहरुमा निम्न सुबिधाहरु अपरिहार्य रहन्छन।
-ढकनी सहितको फोहर राख्ने भाँडो जहाँ प्रयोग गरिएका प्याड वा नेप्किन राख्न सकियोस साथै सो भाँडो दैनिक सफा गर्ने ब्यबस्था हुनुपर्ने
-प्रयोग गरिएका प्याड वा नेप्किनलाई उचित ब्यबस्थापन गर्ने प्रबन्ध हुनुपर्ने
-महिनावारी सम्बन्धी गोपनीयता कायम राख्ने खालको हुनुपर्ने
-प्रयाप्त पानी तथा साबुनको उपलब्धता हुनुपर्ने
बिद्यालयमा जडित चर्पीमा माथि उल्लेखित सुबिधाहरु नहुँदा धेरैजसो बालिकाहरु बिद्यालयमा अनुपस्थित भइरहने तथा पढाइ नै छोड्न बाध्य छन्। बिद्यालयमा ५ कक्षा देखि माथिका बिद्यार्थी लक्षित गरी कम्तिमा एउटा कक्षा यौन शिक्षा, प्रजनन शिक्षा, महिनावारी श्वास्थ्य तथा सरसफाई सम्बन्धी संचालन गर्नु पर्दछ। ती अतिरिक्त कक्षाहरुमा निम्न कुराहरु माथि प्रकाश पार्नु पर्दछ।
-महिनावारी हुनुका कारण तथा यसको मानव जीवनसंगको सम्बन्ध
-पहिलो महिनावारीको समयमा देखा पर्ने शारिरिक परिवर्तनहरु तथा मानसिक परिवर्तन
-महिनावारीको समयमा ब्यक्तिगत सरसफाई प्रति बढी सचेत तथा सजग रहनुका कारण, आदि।
यसका साथै समुदायमा पनि माहिनावारी श्वास्थ्य तथा सरसफाई सम्बन्धि सचेतना फैलाउनु अपरिहार्य छ।
महिनावारी सम्बन्धी सामाजिक अन्धबिस्वास, कुरीति, कुसंस्कार र कु(अभ्यासहरुलाई हटाउन समुदायका हरेक सदस्यहरु निम्न कुरामा जानकार हुनु पर्दछ।
-महिनावारी किन हुन्छ?
-महिनावारी कसरी हुन्छ?
-महिनावारी भएको समयमा के(के गर्नुपर्छ?
हरेक बाबु(आमाले महिनावारी सम्बन्धी सम्पूर्ण तथ्यहरु जान्नु पर्दछ, जस्तैः महिनावारी हुनुका कारण,समस्या तथा समाधानका उपाय जसका लागी श्वास्थ्य कार्यकर्ता वा श्वास्थ्य स्वयंसेवकसंग छलफल तथा परामर्श महत्वपूर्ण रहन्छ।
प्रत्येक आमा तथा हजुरआमाहरुले आफ्ना सन्ततीहरुसंग महिनावारी सम्बन्धी तथ्यगत छलफल गर्ने आनीबानीको बिकास गर्नुपर्दछ। महिनावारीको समयमा आरामदायी तथा सुरक्षित बसोबासको ब्यबस्था हुनुपर्दछ। चर्पीमा ढकनी सहितको फोहर राख्ने भाँडो साथै प्याड परिवर्तन गर्ने उपयुक्त वातावरण तथा प्रयोग गरिएका प्याड तथा नेप्किनको उचित ब्यबस्थापनको सुनिश्चितता हुनुपर्दछ। समग्रमा महिनावारीसंग सम्बन्धित समस्याहरु, कुरीति, कुसंस्कार तथा कु(अभ्यासहरु समाधान गर्न हरेक बाबु(आमा तथा समाजका अगुवाहरु सचेत हुनु अनिवार्य छ।