‘झझल्को’, ‘मितेरी गाउँ’, ‘शिखर’, ‘घर आँगन’जस्ता सिनेमाको निर्देशक, निर्माता, लेखक तथा गीतकार गगन विरहीको निधन भएको छ।
विरहीको आइतबार नर्भिक अस्पतालमा उनको निधन भएको चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीले जानकारी दिए।
लामो समयदेखि कलेजोको समस्याबाट पीडित उनलाई अचानक रुघाखोकी र ज्वरोले गालेपछि गत शनिबार नर्भिक अस्पतालको अति सघन उपचार कक्षमा भर्ना गरिएको थियो। अस्पतालले उनको निधनको कारण निमोनिया र मृगौलामा देखिएको असर भएको बताएको छ।
निर्देशक विरहीका छोरा अस्ट्रेलिया र छोरी अमेरिकामा बस्दै आएका छन्। छोरी भने शनिबार नै काठमाडौं आएकी थिइन्। विरहीको आइतबार साँझ नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।
६१ वर्षीय विरही बादल नामक फिल्मको प्रस्तुतकर्ता समेत थिए। मितेरी गाउँ, शिखर र घर–आँगन उनी आफैंले निर्माण गरेका थिए भने केही सिनेमामा लेखन कार्य पनि गरेका थिए। उनी नेपाल टेलिभिजनको पहिलो समाचारवाचक पनि हुन्।
केही दिन अघिसम्म उनी आफूले रचना गरेको कविता तथा गीतको संग्रह हस्ताक्षर विमोचन गर्ने तयारीमा थिए। पिताको सपना छोरी एलिना श्रेष्ठले पूरा गरेकी छन्। निधन हुनुभन्दा २ घण्टाअघि मात्र विरहीको अन्तिम कृति हस्ताक्षर नर्भिक अस्पताल परिसरमा विमोचन गरिएको थियो।