२०८२ चैत्र २ गते सोमवार

घोराहीमा एक विद्यार्थी दुई विरुवा रोप्ने कार्यक्रम

दाङ, असार २१ । डिभिजन वन कार्यालय दाङको सहयोगमा घोराहीमा रहेको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालय र रामपुरमा रहेको ज्योतिपुञ्ज मोडेल इङ्लिस स्कुलमा अध्ययनरत विद्यार्थीहरुले प्रति विद्यार्थी दुई बिरुवा रोप्ने र संरक्षण गर्ने कार्यक्रम शुरु भएको छ ।

डिभिजन वन कार्यालय दाङको “एक घर दुई वृक्ष,शहर हाम्रो बनाउ स्वच्छ” कार्यक्रम र विद्यालयको “एक विद्यार्थी दुई विरुवा,संरक्षण गरौं पानीको मूल र जरुवा” भन्ने कार्यक्रम अनुसार सोमवार दुवै विद्यालयमा अध्ययनरत एक हजार पाँच सय बढि विद्यार्थीहरुलाई दुइ वटाका दरले तीन हजार विरुवा वितरण गरिएको हो ।

कार्यक्रमका लागि डिभिजन वन कार्यालय दाङले कागती, कपुर, धुपी, पारिजात, गुलमोहर, अमला,कपुर,दालचिनि,टिमुर,कल्की लगायतका प्रजातिका तीन हजार बिरुवा विद्यालयलाई निशुल्क उपलब्ध गराएको डिभिजन वन कार्यालय दाङका प्रमुख डिभिजन वन अधिकृत मोहन प्रसाद श्रेष्ठले जानकारी दिए ।

बिरुवा लगाउने ठाउँ, क्षेत्रफल र विद्यार्थीहरुको चाहना अनुसार बितरण गरिएको ज्योतिपूञ्ज आवासीय माध्यमिक विद्यालय घोराही दाङका “समाज र विद्यालय सँगसँगै” कार्यक्रमका संयोजक ध्रुबराज पौडेलले जानकारी दिए ।

विद्यार्थीहरुमा जल,जंगल र जमिनप्रति स्नेह राखी वातावरण संरक्षण र प्रवद्र्धनमा सचेतना ल्याउनका लागि ज्योतिपूञ्जमा अध्ययनरत विद्यार्थीलाई बिरुवा घरमै लगेर अभिभाभवको सहयोगमा रोप्ने र संरक्षण गर्ने काम शुरु गरिएको ज्योतिपूञ्ज आवासीय माध्यमिक विद्यालयले जनाएको छ ।

विद्यालयको “समाज र विद्यालय सँगसँगै” कार्यक्रम अन्तर्गत यस वर्ष “एक विद्यार्थी दुई विरुवा,संरक्षण गरौं पानीको मूल र जरुवा” भन्ने मूल नाराका साथ विद्यार्थीहरुको प्रयोगात्मक परीक्षामा अंक उपलव्ध गराउने योजना सहित बृक्षारोपण कार्यक्रम गर्न लागिएको ज्योतिपूञ्ज आवासीय माध्यमिक विद्यालयका प्रवन्ध निर्देशक बालचन्द्र शर्माले जानकारी दिए ।

वृक्षारोपणका लागि विद्यालयले सवै विद्यार्थीका अभिभावकलाई पत्राचार गरि छोरारछोरीले विरुवा रोप्नका लागि २ वटा खाडल खनेर तयारी अवस्थामा राख्न, खाडल खन्दा निस्केको माटोमा कम्पोष्ट मल राम्रो सँग मिश्रण गरी खाडलको आधा भागसम्म भर्न, आधा भरिएको खाडलमा विरुवाको जरालाई छोपेको माटो नझर्ने गरी पलाष्टिक र छवाली सावधानीपूर्वक हटाएर सिधा पर्नेगरी रोप्न, रोपिएको विरुवाको जरालाई पहिले माटोले छोपेको भागभन्दा माथी माटो भर्नु हुँदैन भनेर सिकाउन, माटो भरिसकेपछी विरुवाको जराको भागमा पानी जम्ने खालको खाली ठाउँ हुनुहुदैन भनेर सिकाउन र रोपिएको बिरुवालाई पानी राख्न लगाउने र हरेक दिन बेलुका पानी नपरेको दिन पानी सिंचाई गरी संरक्षण गर्नका लागि पत्राचार गरिएको र अभिभावको सकारात्मक सहयोगबाटै बृक्षारोपणको काम शुरु गर्न लागिएको ज्योतिपूञ्ज आवासीय माध्यमिक विद्यालयका प्रिन्सिपल बुद्धिराज अधिकारीले जानकारी दिए ।

बिगतका बर्षहरुदेखि नै आफूहरुले विद्यार्थीहरुको सहयोगमा हरेक बर्ष बृक्षारोपण कार्यक्रम गर्दै आएको र त्यसलाई थप ब्यवस्थित गर्नका लागि यो बर्ष अभिभावकै प्रत्यक्ष निगरानीमा संरक्षण हुनेगरी बृक्षारोपण कार्यक्रम शुरु गरिएको उनीहरुले बताए ।

यो कार्यक्रमप्रति विद्यार्थीहरुको निकै चासो बढेको र अभिभावकले पनि नयाँ कार्यक्रम महशुष गरी सहयोग गरेको प्रिन्सिपल अधिकारीले बताए ।

विद्यार्थीहरुलाई वातावरण संरक्षण सचेतिकरणका लागि विद्यालयको योजना २०७९ मा उल्लेखित “एक विद्यार्थी दुई विरुवा,संरक्षण गरौं पानीको मूल र जरुवा” भन्ने कार्यक्रम प्रभावकारी देखिएका कारण डिभिजन वन कार्यालय दाङको बार्षिक स्वीकृत कार्यक्रम अनुसार सहयोग गरिएको डिभिजन वन कार्यालय दाङले जनाएको छ ।

बृक्षरोपणको कार्यक्रम बर्षौदेखि गर्र्दै आइरहेको भएपनि हुर्काउने र संरक्षण गर्ने कार्यमा विद्यालयको सहकार्यमा गरिएको यो कार्यक्रम सफल हुने विश्वास डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खिमबहादुर केसीको छ ।

प्रकाशित मिति : २०७९ असार २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *