घोराही, फागुन १९ । दाङको घोराही उपमहानगरपालिका वडा नं १५ भरतपुर काठेकोहलमा रहेको सरस्वती माध्यमिक विद्यालयमा वृत्ति मार्गनिर्देशन कार्यक्रम बुधवारदेखि सुरु भएको छ ।कक्षा ९ मा पढ्ने विद्यार्थीलाई आफूले जीवनमा गर्ने काम बारे बिस्तृत योजना बनाउन सहयोग गर्ने उद्देश्यले वृत्ति मार्गनिर्देशन कार्यक्रम सुरु गरिएको विद्यालयका प्रधानाध्यापक बसन्ता पौडेलले जानकारी दिइन ।
विद्यार्थीलाई दूईवटा समूहमा बिभाजन गरी तालिम दिन सुरु गरिएको छ । कार्यक्रम कार्यान्वयनका लागि छनौट गरिएका सामुदायिक विद्यालयका दुई जना शिक्षकलाई सात दिनको प्रशिक्षण दिइएको थियो । ती शिक्षक मार्फत कक्षा ९ मा ६ दिने र ती विद्यार्थी १० कक्षामा पुग्दा थप एक दिनको तालिम दिने व्यवस्था गरिएको छ ।
कार्यक्रममा कक्षा ९ र १० मा पढ्ने विद्यार्थीलाई क्षमताको पहिचान, रुची र खुबी अनुसारको बृत्ति छनौट, बृत्ति र जागिरबारे बिस्तृत जानकारी, नेपालको शिक्षा प्रणाली, आफ्नो बृत्ति निर्माण तथा त्यसको कार्यान्वयनका बारेमा जानकारी दिइने कार्यक्रम कार्यान्वयन संस्था अन्तरङ्ग साइको सोसल रिसर्च एण्ड टे«निङ इन्स्टिच्युट, काठमाडौंका मनोविद् तथा कार्यक्रम निर्देशक सुष्ष्मा रेग्मीले जानकारी दिइन ।
१४ देखि १८ बर्षसम्मका बिद्यार्थी त्यसमा सहभागि छन् । नेपाल सरकार तथा स्वीस सरकारको सहकार्यमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को अगुवाइमा कार्यक्रम सञ्चालनमा आएको हो ।यो कार्यक्रम दाङका ५ वटा सामुदायिक विद्यालयमा सञ्चालनमा रहेको छ ।