अज्ञात व्यक्तिले विष हालिदिदा चितवन बाट दाङमा चराउन ल्याएको लाखौंको माहुरी मरेको छ । विषले गर्दा चितवनका एक जना किसानले चराउन भनि दाङमा ल्याएको ४४ घार माहुरी मरेको छ । मह, माहुरी र घार सबै नष्ट भएको हुँदा त्यसवाट आफुलाई २० देखि २२ लाख सम्म क्षति भएको कृषक विकाश नेपाल क्षत्रीले जानकारी दिए ।
नेपालले असोज २६ गते चितवन वाट दाङको घोराही उपमहानगरपालीका वडा नं. १२ स्थित कृष्णबहादुर घर्तीको तोरीबारीमा ४४ घार माहुरी चराउन भनि ल्याएर राखेका थिए ।
त्यही माहुरीलाई अज्ञात व्यक्तिले विष हालिदिएको हुँदा आफुलाई घटीमा २० लाख र बढीमा २२ लाख बराबरको क्षति भएको पिडित नेपालले जानकारी दिए ।
एनले असोज २५ गते दाङ ल्याएर माहुरी छाडेर चितवन दशंै मनाउन गएका थिए । त्यही समयमा कसैले माहुरीको सबै घारहरुमा विष हालिदिएको र त्यसवारे कात्तिक ७ गते बेलुका मात्रै खवर नेपालले पाएका थिए । त्यसपछि कात्तिक ८ गते दाङ आएर हेर्दा सबै माहुरी मरेको अनि घारहरु काम नलाग्ने अवस्थामा फेला परेको नेपालले जानकारी दिए ।
माहुरी पालक महासंघका केन्द्रीय कार्यसमिति सदस्य तथा विएन बी ‘बी फर्म’का सञ्चालक समेत रहेका नेपालले आफुले दाङको घोराही वडा नं. १२ सिस्नेरी टोलमा माहुरी राख्नु भन्दा पहिले उक्त टोल विकास संस्थाका पदाधिकारीहरु संग छलफल गरेर मात्रै ती माहुरी चरणको लागि दाङमा ल्याएको जानकारी दिए । उक्त टोलबासी सबै संग छलफल गरि सहमतिमा माहुरी चराउन ल्याएको भएपनि आफ्नो माहुरीमा ‘विष’ हालिदिने जस्तो ठूलो बदमासी भएको नेपालले गुणासो गरे । छलफल बाट आफुहरुलाई माहुरी चराउन दिए बाफत सिस्नेरी टोल विकास संस्थामा महिलाको लागि एउटा भवन बनाइ दिने सहमति भएको भएपनि माहुरीमा विष हालिदिनु ठूलो अत्याचार भएको नेपालले बताए ।
चितवनका ४-५ जना मिलेर ४ सय ३२ घार माहुरी चराउनका लागि दाङ ल्याएको भएपनि त्यसमध्य नेपालको मात्रै ४४ घार माहुरीमा विष हालिएको र त्यो सबै माहुरी मरेको दाङ जिल्ला प्रहरी प्रमुख एवं एसपी हरिकृष्ण शर्माले जानकारी दिए । यसैबीच नेपालले माहुरी ल्याएकै दिन असोज २५ गते स्थानीय दुई जना महिलाले विष हालेर माहुरी मारिदिन्छौं भनेर चेतावनी दिएको हुँदा उनीहरु माथि अनुसन्धान हुनुपर्ने माग गरेका छन्। यो विषयमा शनिवार जिल्ला प्रहरी कार्यालय दाङले सिस्नेरी टोल विकास संस्थाका पदाधिकारी सहित आशंका गरिएका दुई जना महिलाहरुलाई समेत झिकाएर छलफल गर्न थालेको एसिपी शर्माले जानकारी दिएका छन् ।