दाङ, चैत २ । जस्लाई आजपनि अमेरिका जान अभिभावकवाट ठूलो प्रेसर छ । कारण उनका आमाबुवा अमेरिकामा बस्दै आएका छन् । नेपालमा जति दुःख गरेपनि केही हुने हैन छिटो यहाँ आइज भन्छन् । तर पनि उनी जान मानेका छैनन् ।
सपनाको संसार मानिने अमेरिका जाने रहर धेरै युवायुवतीको मनमा होला । तर सबैको सोच त्यस्तो हुन्छ भन्नु गलत हो । त्यस्तै एउटा सोच पालेर आफ्नै मातृ भूमिमा तुलसीपुरमा श्रम र सृजना खनाइ रहेका मध्य एक युवा राजेन्द्र महतारा पनि हुन । तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ रानागाउँ निवासी २७ बर्षीय महताराले झन्डै एक वर्षदेखि तुलसीपुरमा द पार्क क्याफे संचालन गरेर नमुना प्रस्तुत गर्न सफल छन् ।
अविवाहित महतारा तिनै व्यक्ति हुन जो विदेशका पाँच तारे होटेल र राम्रो पारिश्रमिक लत्याएर यहाँ आएका हुन । ‘आफ्नै ठाउँमा केही गर्न सकिन्छ कि भन्ने सोचका साथ म फर्केको हुँ र यहाँ आएर क्याफे सुरु गरेको छु,’ महताराले भने ।
काठमाण्डौको सिल्भर माउन्टेनमा स्कूल अफ होटेल म्यानेज मेन्ट (व्याचलर क्लियर) गरेका उनका शब्दमा ग्राहक उनका देवता हुन । ‘ग्राहकलाई सुन्तुष्ट पार्नु हाम्रो कर्तब्य हो ।’ राजेन्द्र क्याफेको मुख्य लगानीकर्ता भएपनि साहुको रुपमा मात्रै प्रस्तुत हुँदैनन् । कुकलाई कुनै पनि समस्या हुँदा उनी आफै कुक गर्न थाल्छन् । वयटरको अभाव हुँदा आफै सर्भिस गर्छन । टेवल सफा गर्ने जस्ता काम पनि आफै गरिहाल्छन् । भन्छन् – ‘काम पूजा हो । काम सानो ठूलो हुँदैन ।
काम गर्न लाज मान्नु हुँदैन।’ विदेशमा गएर जस्तो सुकै पनि काम गर्न तयार हुने र आफ्नो ठाउँमा काम गर्न लजाउने प्रवृतिका मानिस उनलाई मन पर्दैन । उनलाई गफ मात्रै गर्ने तर त्यो व्यवहारमा उतार्न नलाग्ने मानिसहरु पनि मन पर्दैन। ‘हामी कहाँ काम कम र गफ धेरै गर्ने जमात छ,’राजेन्द्रले भने ‘अर्कोको बारेमा आलोचना गरेर विताउन समयमा आफ्नै व्यवसाय वा काम गर्न तर्फ युवाहरु लाग्नुपर्छ ।’ देशको संवृद्धिका लागि युवाहरु जागरुक वन्न पर्ने उनको तर्क छ । ‘युवा सुते देश सुत्छ भने युवा उठे देश उठ्छ,’ राजेन्द्रले भने ‘ नेताहरुका भाषण र गफले हैन देशको संवृद्धि युवाको परिश्रममा संभव छ।’
आफ्नै ठाउँमा एउटा रिसोर्ट खोल्ने सपना संगालेका राजेन्द्रको सपना पनि छ । होटेलको माध्यमवाट दाङको आफ्नै पहिचान देशभर स्थापित गर्ने।
होटेल म्यानेजमेन्टमा व्याचलेर सकेपछि राजेन्द्र विदेशका ठूला होटेलहरुको अनुभव संगाल्न त्यहाँ पुगेर काम पनि गरे । मकाउमा पाँच तारे होटेलमा दुई वर्ष काम गरे । जहाँ उनलाई काम गरे वाफत राम्रो पारिश्रमिक मिल्थ्यो । हरेक कुराको सुविधा थियो । तर उनको मनमा अर्कै कुरा थियो । आफ्नै देश र आफ्नै ठाउँमा आएर होटेल क्षेत्रमा केही गरेर देखाउने । त्यही भएर राजेन्द्र मकाउको पाँच तारे होटेल छोडेर स्वदेश फर्किए । राजेन्द्रले कल्पना गरेको जस्तो एक्लै राम्रो होटेल वा क्याफे संचालन गर्न सक्ने अवस्था थिएन ।
जग्गा जमिन र आर्थिक अवस्था पनि थिएन । त्यसैले उनले साथिहरु खोजे । आफु जस्तै केही युवाहरुको लगानीमा उनले तुलसीपुर उपमहानगरपालिकाको पार्कसहितको जग्गा मासिक ४५ हजार भाडामा लिए । सम्झौंता अनुसार सात वर्ष सम्म यो क्याफे संचालन हुने छ । त्यसपछि के हुन्छ ? हाम्रो प्रश्नमा – उनले तुलसीपुर क्षेत्रमा एउटा रिसोर्ट खोल्ने सोचका साथ तयारीमा लागेको जवाफ दिए । दाङका होटेलहरुले आफ्नै पहिचान स्थापित गर्न अब पढे लखेका युवाहरु होटेल क्षेत्रमा लाग्न आवश्यक रहेको उनले बताए । कोही दाल रोटी बेचर, सेकुवा र भुटुवा बचेर तथा समौसा र चाउमिन बेचेर मात्रै होटेलको पहिचान स्थापित नहुने हुँदा अब होटेल संचालक नयाँ भिजनका साथ अगाडि बढ्न आवश्यक रहेको महताराले बताए ।
हस्पिटालिटी इन्ड्रिष्ट्रिजमा लगानी बढाउने तयारी गरिरहेको बताएका राजेन्द्रले होटेल क्षेत्रवाटै आफ्नो र जिल्लाको पहिचान स्थापना गर्ने दृढता व्यक्त गरे । दाङको बदिया भालेले नेपालभरी पहिचान बनाएको भएपनि यहाँका होटेलहरुले आफ्नै पहिचान स्थापित गर्न नसको हुँदा अब होटेल संचालक नयाँ सोचका साथ अगाडि बढ्नु पर्ने उनको भनाइ छ । ‘अब मेरो क्षेत्र यही हो भन्ने मलाई लाग्छ । मेरो ज्ञान र अनुभव यही क्षेत्रमा छ । अब म यो क्षेत्र छोडेर अर्कौ क्षेत्रमा जान चाहान्न,’ राजेन्द्रले भने ‘ हरेक मान्छेलाई आफुले जानेको र सिकेको काम गर्दा राम्रो हुन्छ जस्तो मलाई लाग्छ ।’
Yakdam ramro pares ma pane yasma savagi huna sakxu i have 10yer aspersions give ne anser plz????