
तुलसीपुर, मंसिर १३ । तुलसीपुर च्याम्बर अफ कमर्षले सोमबार तुलसीपुरमा पत्रकार सम्मेलन गरि आगामी पुस १ गतेदेखि तुलसीपुरम आफ्नो तर्फबाट प्रथम ब्यापारिक महोत्सव २०७८ आयोजना गर्न खोजेको जनाउ दियो । च्याम्बर अफ कमर्ष नेकपा एमाले निकट ब्यापारिक संस्था हो ।
च्याम्बरका अध्यक्ष टोपबहादुर घर्तीले पत्रकार सम्मेलन गरि त्यस्तो जानकारी दिएका थिए । त्यो खबर बाहिरिए पछि दिउँसो तुलसीपुर उद्योग बाणिज्य संघमा पूर्व पदाधिकारीसहितको आकस्मि बैठक बस्यो ।
त्यो बैठकले तत्काल अन्य कुनैपनि संघ संस्थालाई मेला महोत्सव नलगाउन नदिने आशय वा निर्णय ग¥यो । यतिखेर तुलसीपुर बाणिज्य संघका अध्यक्ष नेकपा एमाले बाटै निर्वाचित रामप्रशाद चालिसे छन् । चालिसेकै अध्यक्षतामा आकस्मिक बैठक बसेको थियो ।
उक्त बैठकमा संघका पूर्ब अध्यक्ष बिमल रिजाल र उपाध्यक्ष मिनराज वलीले तीन बर्ष अघि नै तुलसीपुर उपमहागनरपालिका र तुलसीपुर उद्योग बाणिज्यले निर्माण गरेको मेला सञ्चालन सम्बन्धि कार्यबिधिले ब्यबसायिक र पर्यटन सम्बन्धि मेला बाहेक अन्य संघ संस्थाले मेला महोत्सब सञ्चालन गर्न रोक लगाइ सकेको हुँदा बाणिज्य संघको स्वीकृति बिना अन्य कुनैपनि संघ संस्थाले मेला महोत्सव सञ्चालन गर्न नपाउने धारणा प्रस्तुत गरे ।

संघमै आवद्ध अन्य केही ब्यबसायीले कोरोना भाईरस महामारीका कारण दुई बर्षदेखि ब्यापार ब्यबसाय ठप्प रहेको भन्दै बाणिज्य संघले मेला महोत्सव लगाउँदा ब्यबसायी थप मर्कामा पर्ने आशय ब्यक्त गर्दै मेला महोत्सव तत्काल लगाउन दिन नहुने राय राखे । त्यस्तो राय ब्यक्त गर्नेमा बाणिज्य संघका कोषाध्यक्ष देवबहादुर केसी र फेन्सी ब्यबसायी रुपस शर्मा थिए । उनीहरुले जाडो मौसममा फेन्सी पसलहरु राम्रो सञ्चालन हुने र त्यही समयमा मेला लगाउँदा आफुहरुको ब्यबसाय धारासायी हुने भन्दै मेला सञ्चालन लगाउन दिन नहुने बताए ।
तर, तुलसीपुर च्याम्बर अफ कमर्षका पदाधिकारी भने कुनैपनि हालतमा महोत्सव सञ्चालन गरेरै छोड्ने दाबी गर्छन । त्यही भएर यतिखेर महोत्सव लगाउन पाउनु पर्ने र लगाउन पाउन नहुने पक्ष बिपक्षमा तुलसीपुरका ब्यबसायीहरु बिभक्त भएका छन् ।
यसअघि बाणिज्य संघले झण्डै डेढ दशकदेखि बिभिन्न समयमा मेला महोत्सव लगाउदै आएको छ । तर, उसले कमाउनका लागि भन्दा पनि मेला महोत्सवबाट संकलित रकम सामाजिक कार्यमा लगाएको पाइएको छ । दोघरेमा आफ्नो सभाहल निर्माण गर्दा यस्ले महोत्सवकै रकम खर्चेको हो । त्यसअघिको महोत्सवबाट संकलित रकम तत्कालिन राप्ती अस्पतालका लागि खर्च गरिएको थियो ।
त्यस्तै टरिगाँउ बिमानस्थलको स्तरउन्तति लगाएका काममा पनि बाणिज्य संघले रकम खर्च गरेको छ । संघले यस्तै खाले समाजिक उत्तरदायित्व बहन गर्ने उदेश्यका साथ फेरि यस पटक माघ १५ गते महोत्सव लगाउने तयारीमा जुटेको बाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले बताउँछन् ।
तुलसीपुर च्याम्र्वस अफ कर्मशका अध्यक्ष टोबहादु घर्ती भने मेला महोत्सव लगाउने अधिकार जो कोहीको हुने दाबी गर्छन । उनले आँफुहरुले पुस १ गतेदेखि महोत्सव लगाउने भन्दै त्यो कसैले पनि रोक्न नपाउने जिकिर गरे ।
मेला लगाउनका लागि तुलसीपुर उपमहानगरपालिकाले सहमति दिइ सकेको र जिल्ला प्रशासन कार्यालयबाट स्विकृतिका लागि पत्रचार समेत भइसकेको अबस्थामा कसैले कुनै पनि बहानामा महोत्सव रोक्न नपाउने घर्तीले जिकिर गरे ।
मेला महोत्सव लगाउन पाउनु पर्ने र नगाउन नपाइने भन्ने बिबादमा ब्यबसायी आपसमा पक्ष बिपक्षमा बिभक्त भएको खवरले सर्वसाधारण नागरिक पनि अलमलमा परेका छन् । ब्यबसायीहरु दलगत स्वार्थमा लिप्त हुँदा ब्यापार ब्यबसाय गर्न पाउनु पर्ने र नपाउनु पर्नेका बीचमा बिबाद भइरहेको एक जना सर्वसाधारणले बताए ।
‘यहाँ आस्थाका आधारमा र दलगत स्वार्थमा ब्यापारी चर्कौ राजनीतिमा उत्रदा त्यसको असर ब्यापार ब्यबसाय तथा मेला महोत्सवमा पनि पर्न थालेको छ,’ उनले भने ‘ उद्योग बाणिज्य संघ सबै ब्यापारिको साझा संस्था हो र उस्को भनाई अन्य संघ संस्थाहरुले पनि सहज रुपमा स्वीकार गर्नु राम्रो हो ।’
संगठन र पार्टीको लागि कमाउने सोच राख्नु भन्दापनि सामुहिक कार्य वा सामाजिक उत्तरदायित्व बहन गर्ने उदेश्यले मेला महोत्सव लगाउनु उचित हुने उनको तर्क थियो ।
तर, अर्का एक ब्यबसायीले भने तुलसीपुर बाणिज्य संघ भित्र केही ब्यबसायीको मात्रै हालिमुहाली रहेको हुँदा उनीहरुको मात्रै एकाधिकार चल्न नहुने तथा बाणिज्य संघ सबैको साझा बन्नुपर्ने धारणा राखे ।