२०८१ असोज २९ गते मङ्गलवार

बजारमा तिहारको चहल पहल


यमकला भुसाल,
दाङ, कार्तिक ८ ।नेपालीहरुको दोस्रो ठूलो चाड तिहार नजिकिए संगै दाङका बजारहरुमा मानिसहरुको चहलपहल बढेको छ । जिल्लाका प्रमुख बजार तुलसीपुर,घोराही,नारायणपुर,लमही लगाएतका बजारहरु तिहारका सरसामान किन्ने मानिसहरुको भरिभराउ देखिन थालेका छन् ।

बजारहरुमा दैनिक उपभोग्य सामग्रीहरू चामल, ध्यू, तेल, मैदा, भेलि, भाईटीकाको सामग्री, चिनी लगायतका उपभोग्य वस्तुहरूको किनमेल गर्ने उपभोक्ताको भिड बढ्दै गएको व्यवसायीहरुले बताएका छन् ।
तिहारमा दिदी बहिनी र दाजु भाईलाई दिने उपहार किन्न पसलहरूमा ग्राहकको भीड बढेको छ ।

प्राय धेरै जसो ढाँकाको टोपी र कपडा, फेन्सी,कस्मेटिक लगाएतका आवश्यक सामाग्रीहरु खरिद गर्नेहरुको संख्या धेरै रहेको तुलसीपुरका एक व्यापारी सन्तोष भट्राईले जानकारी दिए ।

तिहारलाई बिषेश एउटा उज्यालो र रङ्गिन पर्व पनि हो । तिहारको समयमा घरहरु बत्तिको उज्यालोले झिलिमिले बनाउन थालिएको छ । त्यो प्रकाशको प्रभावले गल्ली तथा बाटो समेत उज्यालो र रङगीचङगी हुने गर्छन ।

बजारमा प्लाष्टिकका नक्कली माला

तिहारमा दाजु भाई र दिदी बहिनीको बीचमा लगाउने माला प्राकृतिक हुनुपर्छ । सयपत्री, मखमलीको माला अति नै राम्रो र लोकप्रिय छ । पछिल्लो समयमा जिल्लाका धेरै स्थानमा व्यवसायिक फूलखेति भएको छ । तरपनि उनीहरुले तयारी माला बजारमा विक्रिका लागि बेच्न राखेको कमै देखिन्छ । पहिले नै राख्दा त्यो ओइलाउने हुँदा प्राकृतिक फूलको माला बजारमा राख्न समस्या भएको कतिपय व्यवसायीले बताएका छन् ।

त्यसको फाइदा उठाउँदै जिल्लाका बजार र चोकहरुमा प्लाष्टिका नक्कली मालाहरु राखिएका छन् । जो उचित मानिदैन । बाहिरबाट आयात गरिएका यस्ता मालाहरु किन्दा नेपालवाट ठूलो रकम विदेश जाने गरेको भन्दै व्यवसायीले स्थानीय उत्पादनलाई महत्व दिन आग्रह गरेका छन् ।

तुलसीपुरका एक व्यापारी रेशम गुप्ताले तिहारको समयमा सडक छेउमा राखेर भाइ मसला र भाइटीका बेच्दा पनि राम्रो आम्दानी हुने गरेको बताए । तिहारमा ससाना र आकर्षक प्याकेटमा राखिएका भाईमसला र टिकाको व्यापार राम्रो हुने उनले बताए ।

प्रकाशित मिति : २०७६ कार्तिक ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *