
दाङ, जेठ १४ ।
सुदरपश्चिम सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले बाजागाजासहित बिहीबार लम्कीचुहा अस्पतालको उद्घाटन गरेका छन् ।
नगरपालिका बाट प्रदेश मातहत आएपछि मुख्यमन्त्री शाहले तामझामका साथ अस्पताल उद्घाटन गरेका हुन ।
त्यसक्रममा बिभिन्न झाँकी जुलुसहरु पनि पुगेका थिए ।
उद्घाटन पछि सम्बोधन गर्दै उनले जनताको स्वास्थ्यसँग कसैले पनि खेलवाड गर्न नहुने बताएका थिए ।
उनले कैलालीको टिकापुर र सेती तथा कञ्चनपुरको महाकाली प्रादेशिक अस्पताललाई थप स्तरोन्नति गरि १०० शैयाको अस्पताल बनाउने जानकारी दिए ।
प्रादेशिक अस्पतालहरूमा डायलासिस सेवाको विस्तार गरिने उल्लेख गर्दै मुख्यमन्त्री शाहले लम्कीचुहा प्रादेशिक अस्पतालमा यसै वर्षदेखि डायलासिस सेवा सुरु गर्ने घोषणा गरे ।
मुख्यमन्त्री शाहले लम्कीचुहा प्रादेशिक अस्पताल सञ्चालनमा आएसँगै ट्रमा सेन्टर स्थापना गर्ने बाटो खुलेको पनि बताएका थिए ।
५० शैयाभन्दा कमका अस्पतालमा ट्रमा सेन्टर सञ्चालन गर्न कठिन हुने भएकाले प्रादेशिक अस्पतालको संरचना आवश्यक भएको शाहले बताए ।
प्रदेश सरकारले प्रदेश गठन आदेशअनुसार प्रादेशिक अस्पताल व्यवस्थापन समिति गठन गरेको भन्दै उनले त्यो निर्णयविरुद्ध लम्कीचुहा नगरपालिका सर्वौच्च अदालत पुगेको र अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको बताए ।
मुख्यमन्त्री शाहले अदालतको निर्णयपछि पनि स्थानीय तहबाट सहकार्यको वातावरण नबनाइएको प्रति असन्तुष्टि व्यक्त गरे । यसअघि लम्कीचुहा अस्पताल नगरपालिकाको ब्यबस्थापनमा संचालन हुँदै आएको थियो । त्यसैले दुई सरकारका बीचमा लामो समयदेखि द्धन्द चल्दै आएको थियो ।
