
दाङ , बैशाख २० ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुकुम्वासी समस्या समाधान गर्ने नाममा नागरिकलाई वेघरबार बनाउने काम भइरहेको बताएका छन् ।
प्रगतिशील लेखक संघ रुपन्देहीले आइतबार बुटवलमा आयोजित नेकपा एमाले लुम्बिनी प्रदेश सभा संसदीय दलका उपनेता भोजप्रसाद श्रेष्ठद्वारा लिखित ‘अठोट’ नामक पुस्तकको लोकार्पण कार्यक्रममा मुख्यमन्त्री आचार्यले त्यस्तो बताएका हुन ।
उनले भूमिहीन र सुकुम्वासीको समस्या समाधान नागरिकलाई विस्थापित गरेर सम्भव नहुने बताए ।
‘पहाड बाट झरेर यहाँ बसोबास गरेका, मेहनत गरेर घडेरी जोहो गरेका र विदेश गएर घर बनाएका मानिसहरु अव्यवस्थीत बसोवासी हुन । उनिहरुलाई हुकुमबासीको नाम दिएर जवरजस्ती घरमाथि डोजर चलाउने काम भइरहेको छ,’ उनले भने ,‘अव यस्ता नागरिकको अवस्था के हुने भन्ने गम्भीर प्रश्न खडा भएको छ ।’
मुख्यमन्त्री आचार्यले अव्यवस्थित बसोबासलाई आधार बनाएर नागरिकलाई अलपत्र पार्ने काम राज्यको जिम्मेवारी नभएको बताए ।
‘रुपन्देहीको अवस्था के हुन्छ ? नागरिकलाई अलपत्र पार्ने, विल्लिवाठ बनाउने काम राज्यले गर्न मिल्छ ?’ उनले प्रश्न गरे ।
त्यस्तै उनले अव्यवस्थित बसोबासीलाई पुराना राजनीतिक दलका कार्यकर्तासँग जोडेर गलत व्याख्या गर्न खोजिएको भन्दै त्यस विषयमा बुद्धिजीवीहरुले आवाज उठाउनुपर्ने बताए ।
उनले विगतका दशकमा मुलुकको विकास र समृद्धिमा उल्लेख्य प्रगति भएको दाबी गरे ।