२०८२ पुष ८ गते मङ्गलवार

राप्ती गाउँपालिकाका अध्यक्ष र ३ वडाध्यक्षसहित ८ जना रुख काटेको अभियोगमा दोषी ठहर

तुलसीपुर, पुस ८ । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्ट, तीन जना वडाध्यक्षसहित आठ जनालाई जथाभावी रुख काटेको अभियोगमा दोषी ठहर गरेको छ ।

दाङ जिल्ला अदालतले गाउँपालिका अध्यक्षसहितका तीन जना वडाध्यक्षलाई राजमार्ग क्षेत्रका रुख मनोमनी ढंगले काटोको अभियोगमा दोषी ठहर गर्दै कैद सजाए तोकेको हो ।
पुस २ गते जिल्ला न्यायाधीश राजेश्वर अर्यालको इजलासले राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट, वडा नं. १ का वडाध्यक्ष गेमे खड्का, वडा नं. ५ वडाध्यक्ष देवप्रसाद चौधरी, काठ खरिद गर्ने झविन्द्र भण्डारी, अभियान चौधरी, नन्दु गिरी र मिलमा लगेर काठ चिराउने केशरबहादुर चौधरीलाई जथाभावी रुख काटेर हिनामिना गरेको भन्दै जनही १५ दिन कैद सजायको फैसला सुनाएको छ ।


त्यस्तै वडा नं. ४ का वडाध्यक्षलाई सबै भन्दा धेरै एक महिना कैद र एक लाख ४१ हजार दुई सय २६ रुपैयाँ बिगो भराउन अदालतले आदेश गरेको अदालतका सूचना अधिकारी गोकर्ण वलीले बताए ।


प्रतिबादी मध्य अदालतले तत्कालिन सडक डिभिजन कार्यालय दाङका प्रमुख इञ्जिनियर रामपुकार जैसवाललाई भने सफाइ दिएको सुचना अधिकारी वलीले जानकारी दिए ।

डिभिजन वन कार्यालय दाङका सहायक वन अधिकृत छोटेलाल चौधरीले गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टसहित नौं जना विरुद्ध २०८० मंसिर १० गते जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए ।

पूर्व पश्चिम राजमार्ग अन्तरगत लुम्बिनी प्रदेशको राजधानीको केन्द्रमा पर्ने राप्ती गाउँपालिका क्षेत्रमा रहेको सडक खण्डका रुखहरु काटेर हिनामिना गरेको अभियोगसहित नौं जना विरुद्ध चौधरीले ८१ लाख ३७ हजार ९०० बराबरको बिगो दाबी गर्दै अदालमा मुद्दा दायर गरेका थिए ।

त्यसमाथि सुनुवाई गर्दै अदालतले गाउँपालिका अध्यक्ष बिष्टसहित आठ जनालाई दोषी ठहर गर्दै कैद कैद सजाय र बिगो असुल उपर गर्न आदेश दिएको हो ।


अदालतका सूचना अधिकारी वलीका अनुसार फैसलाको पूर्ण पाठ तयार पार्ने कार्य भइ रहेको छ । दोषी ठहर भएका ब्यक्तिहरुले अदालतको फैसलाका बिरुद्ध उच्च अदालत तुलसीपुरमा जान पाउने सुविधा पाउने छन् ।

प्रकाशित मिति : २०८२ पुष ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *