तुलसीपुर, बैशाख २१ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ का वडाध्यक्ष बीरेन्द्रकुमार शाहले कुनैपनि काममा भैर्यता र निरन्तरताबाट मात्रै सफलता हासिल हुने बताएका छन् ।
शुक्रबार तुलसीपुरस्थित एकान्त होटेलमा आयोजित एक महिने खुकुरी उत्पादन तालिम र प्रबिधिमा सहयोग कार्यक्रमलाई प्रमुख अतिथिको आशनबाट सम्बोधन गर्दै शाहले सीप सिकेको मानिस संसारको जुन कुनोमा पुगेपनि स्वाभिमानका साथ बाँच्न सक्ने बताएका हुन ।
‘ सफलताका लागि कुनैपनि काममा धैर्यता र निरन्तरता आवश्यक पर्छ ,’ वडाध्यक्ष शाहले भने ‘त्यसका साथै सीपको पुस्तान्तरण र हस्तान्तरणपनि उत्तिकै आवश्यक छ।’
नेपाली काँग्रेसका नेतासमेत रहेका शाहले कलात्मक खुकुरी निर्माणको कला र सीप भएकाहरुले स्वदेशमै बसेर राम्रो आर्जन गर्न सक्ने बताएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै घरेलु तथा शाना उद्योग कार्यालय दाङका प्रमुख युवराज न्यौंपानेले कुनैपनि सीप सिक्न पाउनु हरेकका लागि ठूलो उपलब्धि मान्नु पर्ने बताएका थिए ।
समाजमा एकले अर्कौलाई सीप सिक्नलाई प्रेरित र आकर्षित गर्दै सीपलाई हरेकले सम्मान गर्नुपर्ने न्यौंपानेले जोड दिए ।
तालिममा सहभागी मध्य तुलसीपुर – ८ का चैतुलाल बिकले एक महिने सीपबाट आँफुहरुले केही कुरा सिक्न सफल भएपनि तालिमको अबधि छोटो भएको भन्दै तीन पूर्ण रुपमा कलात्मक खुकुरी बनाउने सीप सिक्नका लागि थप तालिमको प्रबन्ध गर्न आग्रह गरेका थिए ।
एक महिने तालिममा तीन जना चौधरी समुदायका युवाका साथै एक मगर युवकसमेत सहभागी थिए । सल्यानका बिष्णु बिश्वकर्मा खुकुरी बनाउने तालिमका प्रशिक्षक थिए । सल्यानी खुकुरीको चर्चा देश भर छ ।