२०८३ असोज २९ गते बिहिवार

जग्गा फुकुवाको माग गर्दै स्थानीयले थाले आन्दोलन

तुलसीपुर,बैशाख १९ । लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीको रोक्का गरिएको जग्गा फुकुवाको माग गर्दै आन्दोलन सुरु भएको छ।

राजधानी व्यवस्थापनका नाममा ३२ महिना देखी रोकिँदै आएको जग्गा तत्काल फुकुवा गर्न माग राख्दै नागरिक जनदबाब तथा सङ्घर्ष समितिद्वारा प्रदेश सभाको मुख्य गेटमा अनसन बसेका छन्।

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कांग्रेसका डिल्लीबहादुर चौधरीले विश्वासको मत लिने दिनै सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले राप्ती क्षेत्रका स्थानीयहरूले आन्दोलन सुरु गरेका छन्।

जग्गा फुकुवाको विषयलाई जोडेर जनस्तरबाट संघर्ष समिति समेत निर्माण गरिएको छ। उद्योगी व्यवसायी, किसान, मजदुर, निर्माण व्यवसायी तथा जग्गा रोक्काबाट प्रभावित नागरिकहरू संगठित भएर संघर्ष समिति निर्माण गरेका छन्।

अगुवा किसान शंकर गौतमको संयोजकत्वमा जग्गा फुकुवा तथा राजधानी व्यवस्थापन संघर्ष समिति गठन गरिएको छ।

संघर्ष समितिले मंगलवार विहान ८ बजेदेखी प्रदेश राजधानी परिसर क्षेत्रमा धर्ना सुरु गरी प्रदेश सभा प्रवेशद्वारमा रिले अनशन बसेका छन्।

लुम्बिनी प्रदेश राजधानी घोषणा हुनुअघि जग्गा रोक्का भएको थियो। जग्गा रोक्का भएको साढे २ वर्ष बितिसक्दा पनि जग्गा फुकुवा नभएको भन्दै स्थानीयबासीहरूले विरोध सुरु गरेका हुन्।

लामो समयदेखि लुम्बिनी प्रदेशको स्थायी मुकाम भएको ठाउँको जग्गा रोक्का हुँदा दैनिक जीवनयापन सहित उद्योग, व्यापार सञ्चालनमा जटिल समस्या भएको भन्दै स्थानीयहरूले तत्काल रोक्का जग्गा फुकुवा गर्न माग गरेका छन्।

जग्गा रोक्का हुँदा अंशबन्डा, किनबेच तथा बैंक एवम् वित्तिय संस्थाहरूबाट समेत कुनै प्रकारको ऋण लिन नपाउँदा आफूहरूले धेरै समस्या भोगेको स्थानीयको गुनासो रहेको छ।

प्रकाशित मिति : २०८० बैशाख १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *