देउखुरी,पुस ५ । लुम्बिनी प्रदेशको राजधानी दाङ देउखुरीको राप्ती गाउँपालिकामा ‘उज्ज्यालो राप्ती’ अभियान सुरु भएको छ ।
गाउँपालिका अन्तर्गत पूर्वपश्चिम राजमार्ग खण्डलाई सडक बत्तीमार्फत उज्ज्यालो बनाउने गरी यो अभियान सुरु गरिएको हो ।
वडा नं. १ को भालुवाङदेखि वडा नं. ५ को सिंगेखोलासम्मको करिब १५ किलोमिटर खण्डमा १५० भन्दा बढी ‘सेन्सर’युक्त ‘स्मार्ट’ सडक बत्तीहरू जडान गर्ने गरी उज्यालो राप्ती अभियानको काम अघि बढाइएको गाउँपालिका अध्यक्ष प्रकाश विष्टले जानकारी दिए ।
यही खण्डमा लुम्बिनी प्रदेश राजधानीको मुख्य क्षेत्र पर्दछ । सडक बत्ती जडानले गाउँपालिकालाई थप सुरक्षित र सुन्दर हुने गाउँपालिकाको विश्वास छ ।
‘भएपछि पैदल यात्रा गर्न सहज, सडक दुर्घटना न्यूनीकरण र अपराधिक क्रियाकलापहरुबाट जोगिन पनि उज्ज्यालो अभियानले सहयोग पुग्ने विश्वास छ,’ अध्यक्ष विष्टले भने ।
उज्ज्यालो अभियानका लागि प्रदेश पूर्वाधार विकास प्राधिकरणले आर्थिक सहयोग गरेको अध्यक्ष विष्टले जानकारी दिए ।
