२०८३ जेष्ठ ३० गते शनिवार

दाङ क्षेत्र नं. ३ मा काँग्रेस भित्र फेरि, जगत हाँक्न तम्सिएका ६६ बर्षीय जगत

तुलसीपुर, मंसिर ६ । नेपाली काँग्रेस दाङको राजनीतिमा चिरपरिचित नाम हो, जगतबहादुर खड्का । ६६ बर्षीय उनमा अझंै राजनीतिका लागि युवा जोश जाँगर छ ।

उनी जुन पदका लागि प्रतिस्पर्धामा उत्रिएका छन् हाल उनी सोही पदमा छन् । जगत नेपाली काँग्रेस दाङ निर्वाचन क्षेत्र नं. ३ का संघीय सभापति हुन ।

भन्छन् –‘यो मलाई पार्टीले साबिक क्षेत्र नं. ४ र ५ समायोजनका क्रममा क्षेत्र नं. ३ को सभापतिको जिम्मेवारी सुम्पेको हो र त्यो मैले राम्रोसंग निर्वाह गरे । त्यसैले फेरि अब एक कार्यकाल निर्वाचित भएर पार्टी र यस क्षेत्रका जनताको लागि योगदान गर्न चाहान्छु।’

उनको यो सपना पुरा होला, नहोला ? त्यो मंसिर ७ गतेको मतदान पछि छिनोफानो हुने छ । यद्यपी बाहाल वाला सभापति भएको हुँदा उनको पार्टी र संगठनमा मजबुत पकड छ, भन्नु अन्यथा हुने छैन । अर्को महत्वपूर्ण पक्ष भनेको उनले केन्द्रीय सदस्य दीपक गिरीको प्यानलबाट उम्मेदवारी दिनुलाई पनि मानिएको छ । किनभने यतिखेर यसअघिका अधिबेशनका परिनामहरुमा गिरी हाबी देखिएका छन् ।

भन्छन् – ‘ म कार्यकर्तालाई परि आउँदा जहाँ र जतिखेर पनि खडा हुन्छ । मलाई मतदाताहरुले उच्च सम्मान गर्नु हुने छ भन्ने मलाई विश्वास छ।’

फरासिला स्वभावका सभापति खड्काले यहाँ सम्म आइपुग्दा पार्टीमा थुप्रै दुःख कष्टहरु भोग्नु परेको बताउँछन् । खड्काका अनुसार बिक्रम संवत २०३० सालमा तुलसीपुरस्थित महेन्द्रमाविमा कक्षा १० मा अध्यनकै क्रममा उनी नेविसंघ प्रति आकर्षित भएका थिए । तत्कालिन समयका जल्दाबल्दा युवा कुबेर शाह संगसंगै नेविसंघका गतिबिधिमा लाग्ने गरेको उनले स्मरण गरे । उनको शैक्षिक योग्यता टेस्ट परीक्षा उत्तिर्ण मात्रै हो । हाँस्दै भने ‘ म दश कक्षा पास एसएलसी फेल हुँ।’

२०३४ सालमा गाउँफर्क अभियान अन्तरगत साविक टरिगाउँ ६ गौरी गाउँमा भएको निर्वाचनमा उनी स्थानीय खिलतबहादुर शाहसंग वडा सदस्यमा १ मतले पराजित भएको बताउँछन् ।

२०३६ सालको जनमत संग्रहका क्रममा उनी रोल्पाको जुँगारमा बहुदलको तर्फबाट एजेन्ट बसे ।
२०३७ सालमा टरिगाँउ ५ को वडा सदस्य निर्वाचित भए । खड्का उतिखेर नेपाली काँग्रेसका स्वर्गिय नेता तिलकबहादुर बस्नेतको प्यानलबाट बहुदलको पक्षबाट मैदानमा उत्रिएका थिए । खड्काले १७३ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी मोहनलाल डाँगीले जम्मा ५३ मत मात्रै प्राप्त गरेको उनले स्मरण गरे । २०४३ सालमा फेरि वडा सदस्य निर्वाचित भए ।

२०४६ सालमा बहुदल स्थापना पछि टरिगाँउमा झन्डै ११ सय जति मानिसहरुको बिजय ¥याली निस्कियो । त्यतिखेर पनि स्वर्गिय तिलकबहादुर बस्नेतको नेतृत्वमा उक्त ¥याली भएको थियो । त्यतिखेरै यज्ञबहादुर बुढाथोकीसहित आफुपनि फेरि नेपाली काँग्रेसमा पार्टी प्रबेश गरेको सभापति खड्काले बताउँछन् ।

सभापति खड्का २०४८ सालमा इकाइ सभापतिमा निर्वाचित भए । २०५४ सालमा पनि उनी सोही पदमा निर्वाचित भए ।
त्यसपछि उनी क्षेत्रीय कार्यसमितिको कोषाध्यक्षमा निर्वाचित भए । ११औं महाधिबेशनबाट क्षेत्रीय सभापतिमा निर्वाचित भए । १२औं महाधिबेशनमा उनी जिल्ला कार्यसमिति सदस्यमा निर्वाचित भए । १३औं महाधिबेशनबाट पनि क्षेत्रीय सभापतिमा निर्वाचित भए । र १४औं महाधिबेशनका लागि पनि उनी सोही पदमा उम्मेदवारी दिएका छन् ।

यस पटक निर्वाचित भएपछि एकताबद्ध पार्टी बनाउने र सबैलाई समेटेर अगाडि बढ्ने सभापति खड्काले प्रण गरे ।

प्रकाशित मिति : २०७८ मङ्सिर ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *